close

चिटिक्क बन्दैछ अन्नपूर्ण, पार्किङदेखि होटलसम्मका सुविधा

चिटिक्क बन्दैछ अन्नपूर्ण, पार्किङदेखि होटलसम्मका सुविधा

Trulli
ADVERTISEMENT

म्याग्दी - अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सुरु गरेको छ ।  गाउँपालिका क्षेत्रमा रहेका झरना, प्राकृतिक तातोपानी कुण्ड र दृश्यावलोकन स्थलमा प्रदेश र संघ सरकारसँग साझेदारी गरेर पूर्वाधार निर्माणमा बजेट भित्र्याउन डिपिआर तयार पार्न लागिएको हो । 


डिपिआर बनाउन छनोट भएका परामर्शदाता कम्पनीका प्राविधिकले पर्यटकीय स्थलको स्थलगत अध्ययन सुरु गरेको गाउँपालिका अध्यक्ष डमबहादुर पुनले बताए । ‘संघ र प्रदेश सरकारसँग बजेट माग्न १६ वटा योजना छनोट गरेका थियौं’, उनले भने, ‘पहिलो चरणमा पर्यटकीय सम्भावना बोकेका झरना र तातोपानी कुण्डको डिपिआर बनाउन लागेका छौं ।’


डिपिआर बनाउनका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको थियो । रुप्से, नारच्याङ र महाभीर झरना, भुरुङ, पाउद्वार, रातोपानी र सेकार्कु तातोपानी मुहानको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ । 


झरनासम्म पुग्ने पदमार्ग, विश्रामस्थल, पार्किङ, चिया तथा खाजा पसल निर्माणका साथै वरपरका धार्मिक स्थल, जैविक विविधताको संरक्षण तथा सौन्दर्यकरणका लागि पूर्वाधार बनाउने योजना रहेको अध्यक्ष पुनले बताए । ती झरनामा क्यानोनिङको समेत सम्भाब्यता अध्ययन गराइनेछ । तातोपानीका कुण्डहरुमा शौचालय, कपडा फेर्ने ठाउँ, स्नानगृह, पोखरीमा टायल बिछ्याउने र नदी कटान नियन्त्रणका लागि तटबन्ध गर्ने योजना छ । 


पाउद्वार तातोपानी कुण्डलाई यस वर्ष गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ । परामर्शदाताको प्राविधिक टोलीलाई नेपालका १ सय पर्यटकीय स्थलभित्र समावेश भएको घोरेपानी, पुनहिल र मोहोरेडाँडालाई पनि अध्ययनमा लगिने गाउँपालिकाले जनाएको छ । 


अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङको प्रवेशद्वारमा पर्ने अन्नपूर्ण गाउँपालिका पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको स्थानीय तह हो । गाउँपालिकाले पर्यटकीय स्थलमा दीर्घकालीन पूर्वाधार निर्माणका लागि डिपिआर बनाउन लागेको हो ।