काठमाडौं– नेपाली उत्पादनको पहुँच विश्व बजारमा पुर्याई युवा रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ स्थापना भएको छ ।विश्वका विभिन्न मुलुकमा रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासंघले विदेशमा नेपाली उत्पादनको प्रदर्शनी, बजारीकरणमा सहजीकरण गर्ने र बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य राखेको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले शुक्रबार उक्त संस्थाको उद्घाटन गरे ।
डा. यादवले विदेशी ज्ञान, सीप र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपाल प्राकृतिक सुन्दरता र भौगोलिक विविधतायुक्त मुलुक भएकाले विश्व पर्यटनका लागि आकर्षक गन्तव्य रहेको उनको भनाइ छ । उनले विश्वभरबाट पर्यटक भित्र्याउन पनि संस्थालाई सहजीकरण गर्न सुझाए ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कला र संस्कृति बनाउन संस्थागत लगानी आवश्यक रहेकाले नेपाली चलचित्रमा आधुनिक प्रविधिको प्रयोगले विश्व बजारमा प्रतिस्पर्धी बनाउन चलचित्र क्षेत्र लागिपरेको बताए ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले मुलुकको आर्थिक विकासमा विदेशी युवा उद्यमीको माध्यमबाट लगानी र प्रविधि परिचालन गरिनुपर्ने आवश्यकता औँल्याए ।
उद्योग वाणिज्य महासंघका उपनिर्देशक गोकर्णराज अवस्थी, शिक्षा उद्यमी दिराज शर्मा, पर्यटन व्यवसायी सुमन पाण्डेलगायतले नेपालमा विदेशी लगानी भित्र्याउन महासंघले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाहले चीन, हङकङ, अमेरिका, बेलायत अस्ट्रेलियालगायत ११ ओटा मुलुकका युवा उद्यमीलाई समेटिएको र अन्य मुलुकका युवा उद्यमीलाई पनि संस्थामा आबद्ध गरिने बताए ।