सुर्खेत– देश संघीय संरचनामा गएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विभिन्न उद्योग दर्ता गर्नेको संख्या बढ्दै गएको छ ।
प्रदेश सरकार गठन भएको ३ वर्षको अवधिमा सुर्खेतमा ३ हजार ८ सय १३ उद्योग दर्ता भएका हुन् ।
घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतको तथ्यांकअनुसार सरकार गठन भएको ३ वर्षमा सानाठूला र मझौला गरी ३ हजार आठ सय १३ उद्योग दर्ता भएका हुन् ।
आर्थिक वर्ष २०७७/७८ साउनदेखि कात्तिक मसान्तसम्म उत्पादनमूलक ६९ वटा र कृषि तथा वन पैदावरमा आधारित ३ सय ४९ वटा दर्ता भएका छन् ।
त्यस्तै, निर्माणसम्बन्धी ९ वटा, सेवामूलक १ सय ९३ वटा गरी ६ सय २० वटा र मंसिरमा ९५ वटा, पुसमा १ सय २२ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतले बताएको छ ।
२०७२÷७३ मा उत्पादनमूलक ७२, कृषि तथा वनजन्य १ सय ६१, पर्यटन उद्योग ५८, सेवामूलक ७, निर्माण उद्योग १८ वटा गरी ३९६ वटा उद्योग सञ्चालनमा आएका छन् भने १ सय ७१ नवीकरण भएका छन् ।
२६ जना व्यवसायीले उद्योग बन्दको निवेदन दिएर खारेज भएका र ८५ जनाले पुँजी वृद्धि, उद्देश्य थप, नामसारी, ठाउँसारी नाम परिर्वतन गरेको सूचना अधिकारि रिमा कँडेलले बताइन् ।
२०७३÷७४ मा उत्पादनमूलक ७२, कृषि तथा वनजन्य १ सय ७०, पर्यटन २ वटा, सेवामूलक १ सय ३४, निर्माण उद्योग ७२ गरी ५३० वटा उद्योग संख्या रहेका छ भने ३६० वटा उद्योग नवीकरण भएका छन् ।
३८ उद्योग खारेज र १४३ पुँजी वृद्धि, उद्देश्य थप, नामसारी, ठाउँसारी गरि कुल १०७१ उद्योग रहेको कँडेलले बताइन् । २०७४/७५ मा कृषि तथा वन पैदावरमा आधारित २७६, खनिज १, निर्माण ३०, पर्यटन ५६, सेवामूलक ३ सय गरेर ७७७ उद्योग छन् ।
३८१३ उद्योगमा ८१३ महिला, १५७१ जना पुरुषले रोजगारी पाएका छन् भने २२५ महिला, ५९८ पुरुष उद्यमी बनेको तथ्यांकमा उल्लेख छ । कर्णाली प्रदेशमा सम्भाव्यता हुँदाहुँदै पनि सरकारले उद्योग सञ्चालनमा चासो नदिएको र अलमलमै ३ वर्ष बिताएको नेपाल होटल व्यवसायी महासंघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले बताए ।
‘कर्णाली प्रदेश सरकार गठन भएको पहिलो वर्षमै होटलमा तालिम गोष्ठी नगरिने घोषणा गरेपछि होटल व्यवसायलाई पहिलो गाँसमै ढुंगा परेको हो’, उनले भने ।
कर्णाली प्रदेश सरकारले व्यावसयीलाई लाभ पुग्ने खाले कुनै पनि प्याकेज नल्याएको शाहीको गुनासो छ । केन्द्रदेखि प्रदेश सबैले कर्णालीलाई पर्यटन प्रवद्र्धन गरिने घोषणा गरे पनि बिनागुरुयोजना कार्यक्रम चलाउँदा समस्या भएको शाहीको बुझाइ छ ।
३ वर्षको अवधिमा यति धेरै संख्यामा उद्योग दर्ता र सञ्चालन हुनु राम्रो भए पनि पछिल्लो समय अनुदानका मात्र उद्योग दर्ता गर्ने क्रम बढेको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही बताउँछन् ।
‘अझै पनि सरकारले उद्योग व्यवसाय गर्नेका लागि विभिन्न प्याकेज ल्याउनुपर्छ अनि मात्र कर्णालीले देखेको सपना पूरा हुन्छ,’ शाहीले भने ।