काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले नेपालका लागि श्रीलंकाली राजदूत हिमाली अरुणा तिलकालाई भेटी नेपाली निर्माण उद्योगको पछिल्लो अवस्था र निर्माण प्रविधिबारे जानकारी गराएको छ ।
महासंघ अध्यक्ष रविसिंह नेतृत्वको प्रतिनिधिमण्डलले नेपाली निर्माण क्षेत्रका ऐन–कानुन सम्बन्धमा राजदूत तिलकालाई अवगत गराएको हो ।
श्रीलंकाबाट नेपालमा हेभी इक्युपमेन्ट निर्यात भए दुई देशबीचको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विषयमा समेत भेटमा छलफल भएको महासंघले बताएको छ ।
भेटमा राजदूत तिलकाले नेपाली निर्माण व्यवसायीसँग मिलेर काम गर्न श्रीलंकाका निर्माण व्यवसायी इच्छुक रहेको जानकारी गराएको महासंघले जनाएको छ ।
दुई देशबीचको निर्माण व्यवसायका विविध पक्षबारे जानकारी आदानप्रदान गर्न चाँडै वेबिनार गर्नेसमेत राजदूत तिलकाले बताइन् । प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार ई. वीरेन्द्रराज पाण्डे, महासचिव रोशन दाहाल, कार्यालय प्रमुख प्रेमसिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी, प्रशासकीय अधिकृत शुभेक्षा सिंहलगायतको सहभागिता थियो ।