उदयपुर– गैडा सिमेन्ट उत्पादन गर्दै आएको पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको उत्पादन ७० प्रतिशतले घटेको छ ।
सरकारी स्वामित्वमा रहेको उद्योग राजनीतिक हस्तक्षेपका कारण धराशायी बन्दै गएको हो । राजनीतिक दलको भर्तीकेन्द्र बनाइँदा यस्तो अवस्था आएको हो । सरकारी स्वामित्वमा सञ्चालित उच्च गुणस्तरको गैडाछाप सिमेन्ट उत्पादन गर्दै आएको यो उद्योगमा अनावश्यक राजनीतिक हस्तक्षेप हुँदा जीर्ण बन्दै गएको छ ।
दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमताको उद्योगबाट सरदर अहिले २ सय ५० मेट्रिक टन मात्र उत्पादन भएको छ । पूर्वाधार निर्माणमा अत्यन्त उपयोगी ठहरिएको गैंडा छाप सिमेन्टको प्रयोग गर्दा भौतिक संरचना दीर्घकालीन र टिकाउ हुने दाबी गरिन्छ । जापानी प्रविधिबाट उत्पादित गैंडा सिमेण्ट नेपालका धेरै सिमेन्टमध्ये अहिलेसम्मकै गुणस्तरीय प्रमाणित भइसकेको हुनाले भवन, सडक, पुल, नाला, कल्भर्टलगायत ठूलाठूला परियोजनामा प्रयोग नगर्नेहरु पछुताउनु पर्ने सिमेन्ट हो ।
गुणस्तरमा नेपालका सिमेन्टमध्ये अहिलेसम्म गैंडा जति राम्रो र गुणस्तरीय अन्य कुनै सिमेन्ट भएको इतिहास छैन । गैंडा सिमेन्टको प्रयोग गरेर बलियो पूर्वाधार बनाउन सकिने सिमेन्ट हुन् । २०४९ देखि व्यावसायिक उत्पादन सुरु भएको गैंडा सिमेन्टबाट निर्मित संरचना २०७२ को शक्तिशाली भूकम्पले समेत भत्काउन नसकेको उद्योगको दाबी छ ।
भूकम्पले देशभर धेरै संरचना ध्वस्त गरेपनि ध्वस्त नभएका सबै संरचनामा गैँडा सिमेन्ट प्रयोग भएको पाइएको छ । वर्षौं वर्ष ढुक्क हुने ग्यारेन्टी भएको गैंडा सिमेन्ट दक्षिण एसियाकै उत्कृष्ट र गुणस्तरीय भएको उद्योगको दाबी छ ।
गैंडा सिमेन्टको पुसदेखि असारसम्म उच्च माग हुने गर्छ । सिमेन्टको उच्च माग भएपनि नीजि कम्पनीले दिने कमिशनको कारण उच्च माग भएको समय कम उत्पादन गर्ने गरेको आरोप उदयपुर सिमेन्ट उद्योगलाई लाग्दै आएको छ ।
सिमेन्ट उत्पादनमा कमी आएकै कारण उद्योगलाई आर्थिक व्ययभार थपिदै गएको छ । लामो समय देखि महाप्रवन्धक खाली भएर नयाँ महाप्रवन्धक गोपीकृष्ण न्यौपाने आए पनि उद्योगले सोचेभन्दा अति नै न्यून सिमेन्ट उत्पादन गर्दै आएको छ ।
पुसदेखि असारसम्मको समयलाई सिमेन्ट उद्योगको ‘पिक आवर’ मानिन्छ । यो समयमा विकास निर्माणको काम धेरै हुने भएकाले सिमेन्टको माग उच्च हुन्छ । त्यसैले सबै सिमेन्ट उद्योग पूर्ण क्षमतामा चलाउने र अधिकतम उत्पादन गर्ने ध्याउन्नमा हुन्छन् । तर, सरकारी स्वामित्वको उदयपुर सिमेन्टले १ माघमा महाप्रबन्धक पाएपनि अहिलेसम्म ११ हजार मेट्रिक टन मात्रै क्लिङकर उत्पादन गरेको उद्योगको तथ्याङकले देखाउँछ ।
माघ महिनामा ७ हजार ५ सय र फागुन महिनाको १४ गतेसम्म ३ हजार ५ सय मेट्रिक टन सिमेन्ट उत्पादन भएको क्लिङकर उत्पादन विभागका प्रबन्धक रविचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार मेसिनरी सामान भएकोले बिग्रिने चल्ने भएकोले उत्पादनमा कम भएको हो ।
दैनिक ८ सय मेट्रिक टन उत्पादन गर्ने क्षमता भएपनि दैनिक ७ सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको थियो । पछिल्लो समय उत्पादनमा कमी आएको छ । नवनियुक्त महाप्रबन्धक न्यौपाने आएपछि उत्पादनमा झन घटेको उद्योगकै कर्मचारी बताउँछन् ।
आर्थिक वर्ष २०७५–०७६ मा २२ लाख ६२ हजार १ सय ४२ बोरा सिमेन्ट बिक्री भएको थियो भने आर्थिक वर्ष २०७६–०७७ मा कोरोनाका कारणले १६ लाख ४१ हजार ४७ बोरामा सिमित भयो । यस्तै चालु आर्थिक वर्षको सिमेन्ट बिक्री गर्ने लक्ष्य २७ लाख ७२ हजार बोरा भएपनि अहिलेसम्म १० लाख २२ हजार ८ सय ९१ बोरा सिमेन्ट मात्रै बिक्री भएको बिक्री विभाग प्रमुख रामबहादुर जिसीले जानकारी दिए ।
उद्योग २०४४ सालमा स्थापना भएर २०४९ सालदेखि व्यवसायिक उत्पादन शुरु भएको हो । उद्योगको बजार क्रमशः खुम्चँदै गएको तथ्यांकले देखाउँछ । कुनैबेला उद्योगका देशभर ११ सय डिलर थिए । अहिले करिब दुई सय मात्र छन् ।
यी डिलरले समेत सिमेन्ट बिक्री गर्न आनाकानी गर्दै आएका छन् । उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट बिक्री गर्ने डिलरलाई प्रतिबोरा १५–२० रुपैयाँ कमिशन दिइरहेको छ । तर, निजी क्षेत्रका उद्योगले डिलरलाई सय रुपैयाँसम्म कमिसन दिइरहेका छन् । सिमेन्ट खोज्दै आउने ग्राहकलार्ई डिलरले बढी कमिसन पाउने निजी उद्योगकै सिमेन्ट प्रस्ताव गर्छन् ।
अर्कातिर निजी क्षेत्रको तुलनामा उदयपुरको गैँडाछाप सिमेन्ट अलिक महँगो पनि छ । उद्योगले ५३ ग्रेडको ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको छ । निजी क्षेत्रको भन्दा उच्च गुणस्तर र लागत पनि महँगो पर्ने भएकाले बजार मूल्य बढी भएको उद्योगको तर्क छ ।