रुकुम पूर्व– रुकुम पूर्वका विभिन्न ठाउँमा स्थानीयले सञ्चालन गरिरहेका अल्लो उद्योग बन्द अवस्थामा पुगेका छन् । अल्लोबाट उत्पादित विभिन्न सामग्रीले बजार नपाएपछि उद्योग सञ्चालनमा कठिनाइ भएको हो ।
रुकुम पूर्वका विभिन्न व्यक्तिले अल्लो प्रशोधन र त्यसबाट बनाइने सामग्रीबारे सीप प्राप्त गरेर अल्लो उद्योग सञ्चालन गरे पनि उत्पादित सामग्री बिक्री नहुँदा आम्दानी शून्य भएपछि उद्यमी चिन्तित बनेका छन् ।
रुकुम पूर्वका ३ वटै स्थानीय तहमै प्रशस्त मात्रामा अल्लोको कच्चा पदार्थ पाइने गरेको छ । तर, उत्पादित सामग्रीले परिश्रमअनुसारको बजार र मूल्य नपाउँदा अल्लो अद्योग सञ्चालनमा समस्या भएको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ जामाबगरस्थित सिर्जनशील अल्लो उद्योग सञ्चालक गौसरी पुनले बताइन् ।
‘जामाबगरमा ६ वर्षदेखि अल्लो उद्योग स्थापना गरी उद्योग सञ्चालन गर्दै आए पनि सामग्रीले बजार र परिश्रमअनुसारको मूल्य नपाउँदा घाटा बेहोर्नुपर्ने अवस्था छ’, पुनले भनिन् ।
अल्लोको रेसा निकालेर सुकाउने, पकाउने कुट्नेजस्ता प्रक्रियाबाट सामग्री बनाउनुपर्ने अवस्थामा गाउँमा बजार र श्रमअनुसारको आम्दानी नहुँदा रुकुमकोट र सदरमुकाम खलंगासम्म पु¥याउँदा झनै लागत बढेको उनले जानकारी दिइन् ।
अल्लोबाट तयार पारिने सामग्रीबाट पारिश्रमिकसमेत नउठेपछि उत्पादनमा कमीका साथै सञ्चालनमा रहेका उद्योगसमेत संकटमा परिरहेकोे उद्योग सञ्चालक बताउँछन् ।
भौगोलिक विकटताका बीच ग्रामीण क्षेत्रका सर्वसाधारणले गाउँघरमै संकलन गरेको अल्लोबाट झोला, टोपी, बर्की, कोटलगायत विभिन्न लत्ताकपडा सामग्री निर्माण गरे पनि गाउँमा बजार नभएपछि व्यवसाय धरापमा पर्ने अवस्था आएको उनीहरूको गुनासो छ ।
जामाबगरस्थित सिर्जनशील अल्लो उद्योग व्यवस्थापनका लागि अल्लोका कपडा तयार गर्ने आधुनिक औजार खरिद र आवश्यक तालिम सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
चालू आर्थिक वर्षमा गाउँपालिकाको ४ लाख र वडाको ५० लाख गरी ४ लाख ५० हजार रुपैयाँको बजेट विनियोजन गरिएको वडा नम्बर १४ का वडाध्यक्ष हर्कमान बुढाले जानकारी दिए ।
अल्लो उद्योग सञ्चालनबाट स्थानीयलाई व्यावसायिक बनाउन सरकारसँगै विभिन्न संघसंस्थाले तालिम दिँदै आए पनि उचित बजार तथा मूल्य नपाउँदा अल्लोबाट घाटा खानु परेको उद्यमीहरू बताउँछन् ।