भक्तपुर– तिहार नजिकिएसँगै भक्तपुर नगरपालिकाका मोहन प्रजापतिलाई माटाका भाँडा बनाउन भ्याई नभ्याई छ । माटाका भाँडा बनाउने उनी मात्रै होइनन्, श्रीमती पनि व्यस्त देखिन्छिन् ।
कोरोनाले लकडाउन जारी भएसँगै पेसा ठप्प पारी बसेका प्रजापति दम्पती तिहारसँगै काम सुचारु भएकामा खुसी छन् । ‘कोरोना जोखिम बढेसँगै ठप्प रहेको व्यवसाय तिहारले फर्काइदिएपछि खुसी लागेको छ’, प्रजापति दम्पती मुस्कुराउँछन् ।
मोहनका अनुसार तिहारमा लक्ष्मी पूजाका लागि पाला (माटोको दियो) को प्रयोग हुने भएकाले अर्डर थामिनसक्नु हुन्छ । उनले भने, ‘सोही अर्डरका लागि मात्रै हामीले व्यवसाय गर्न थालेका हौं । अहिलेको तिहारका लागि दुई हजार माटाका पाला बनाउने अर्डर आएको छ ।’
कोरोना रोकथामका लागि लकडाउन भएसँगै माटोका भाँडा बनाउने र बनाएका सामानसमेत बेच्न नसकेको उनीहरूको गुनासो छ ।
‘गत वर्षको तुलनामा यस वर्ष पालाको अर्डर झन्डै ५० प्रतिशत कम आएको छ । अर्डर कम आए पनि बन्द पेसा खुल्दा खुसी छौं’, मोहनले भने । उनको मात्र होइन । प्रजापति समुदायका अधिकांशको व्यवसाय तिहारको माहोल छाएसँगै सञ्चालन भएको छ ।
विष्णुप्रसाद प्रजापतिका अनुसार माटाका भाँडा सिजनअनुसार बनाइने गरिन्छ । उनले भने, ‘तिहारमा लक्ष्मीपूजा तथा भाइटीकाको दिन दियो बत्ती बाल्ने भएकाले योे समयमा दियो बनाउँछौ । बाँकी समय अर्डर आएका भाँडा बनाउने गर्छौं । खत्रुके बाह्रै महिना बन्छ ।’
भक्तपुरमा बनाएका माटाका सामान उपत्यकाका साथै पोखरालगायत विभिन्न जिल्ला पठाइने गरिन्छ । एक वर्षमा १० महिना माटाका भाँडा बनाउने र बाँकी समय खेतीपाती गरिने उनी बताउँछन् ।
तिहारमा पालाको महिमा
संस्कृतविद् ओम धौभडेलका अनुसार जहाँ उज्यालो हुन्छ, त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने मान्यता छ । लक्ष्मीलाई वास गराउनका लागि हरेक घरमा लक्ष्मीपूजाको दिन पाला बालिन्छ ।
पाला नै किन भन्ने प्रश्नमा धौभडेल भन्छन्, ‘प्राचीन समय बिजुली बत्तीको विकास भएको थिएन । सो समयमा मानिसले तोरीको तेलबाट लामो समयसम्म बत्ती बाल्न सकिन्छ भनेर जानकारी पाए । उनीहरूले सुरक्षित रुपमा बत्ती बाल्नका लागि माटाका भाँडाको प्रयोग गरे ।
त्यसपछि पालामा बत्ती बाल्ने प्रचलन रह्यो । आज पनि आर्थिक रुपमा नेपाली मुद्रा बचाउन तथा मौलिकपन कायम गर्न पालामै बत्ती बाल्ने गरिन्छ ।’
उनका अनुसार तिहार भारतबाट आएको आगन्तुक शब्द हो । नेपालीमा दीपावली भनिन्छ । दीप बालेर मनाइने चाड भएकाले नै यसको नाम दीपावली हुन गएको हो । त्यसैले पनि दीपावलीमा दियो अर्थात् पालाको प्रयोग बढी हुन्छ । अझ काँचो पालामा तेल धेरै समय टिक्ने भएकाले काँचो पालाको समेत धेरै प्रयोग हुन्छ ।
धौभडेलले पहिले कोजाग्रत पूर्णिमादेखि लक्ष्मीपूजाको दिनसम्म आकाशदीप दिने प्रचलन रहेको बताए । घर या कौसीमा बाँस डोरीले बाँधेर राख्ने र त्यसमा पालाहरू राखेर बत्ती दिने गरिन्थ्यो । तर, आजभोलि लक्ष्मीपूजाको दिन मात्रै दियो बाल्ने गरिन्छ ।
कसरी बनाइन्छ पाला ?
कालमाटीलाई हल्का पानी हालेर मुछिन्छ । मुछिएको माटालाई मेसिनमा राखिन्छ । मेसिनमा राखेर त्यसलाई दियोको स्वरुपमा ढालिन्छ । उक्त दियोलाई घाममा राखेर सुकाइन्छ । सुकेपछि त्यसलाई माटो पोल्ने भट्टीमा राखेर पोलिन्छ ।
भट्टीमा दुई दिनसम्म खरानीमा राखेर पोलिन्छ । पोलेको भाँडालाई निकालेर रंगरोगन गरिन्छ । सुकाउने तथा रंगरोगन गर्ने काम महिलाले र माटो मुछ्ने तथा बनाउने काम पुरुषले गर्ने विष्णुप्रसाद प्रजापति बताउँछन् ।
बनाएको भाँडालाई अर्डरबमोजिम पठाउने गरिन्छ । पहिले कोल (सामान बोक्नका लागि बनाएको बाँसको सामग्री) मा राखेर बेच्न लगिए पनि अचेल गाडीमा राखेर लगिन्ने विष्णुको भनाइ छ ।
पाला सानो र ठूलो गरी चार थरीका हुन्छन् । सानोको प्रतिगोटा एकदेखि डेढ रुपैयाँ, ठूलोको १५ रुपैयाँसम्म पर्ने उनी सुनाउँछन् ।