अर्घाखाँची– छत्रदेव गाउँपालिकाले उपचारका लागि सिफारिस माग गर्दा फोटोसहितको निवेदन अनिवार्य पेस गर्न अनुरोध गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै विपन्न नागरिकले उपचारमा सहयोगका लागि पालिकासँग सिफारिस माग गर्दा ३ वटा फोटोसहित निवेदन पेश गर्न आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रअनुसार गाउँपालिकाले उपचारका लागि सिफारिस दिएका नागरिकको विवरण प्रत्येक महिना सूचना पाटीमा सार्वजनिक गर्न निर्देशन दिएकाले फोटोसहित निवेदन पेश गर्न अनुरोध गरेको हो ।
विपन्न बिरामीलाई नियमित स्वास्थ्य उपचारका लागि गाउँपालिकाले सिफारिस दिँदै आएको गाउँपालिकाका स्वास्थ्य शाखाका बुद्धिराम न्यौपानेले बताए । मृगौला, क्यान्सर, मुटु राेग, अल्जाइमरलगायतका बिरामीलाई सिफारिस गर्ने गरेको उनले पालिकाखबरलाई जानकारी दिए । गाउँपालिकाभित्रका मृगौला प्रत्यारोपनका बिरामीलाई ४ लाख रुपैयाँ र अन्य बिरामीको हकमा १/१ लाख रुपैयाँसम्म सिफारिस गर्ने गरेको उनले सुनाए ।
बिरामीको सिफारिस गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखसहितको तीन सदस्यीय समितिको निर्णयबाट हुने गरेको उनले बताए । गाउँपालिकाले ६७ जना बिरामीलाई औषधि उपचारका लागि सिफारिस गरिसकेको उनले जानकारी दिए ।
पछिल्लो समय पालिकामा क्यान्सरका बिरामी बढिरहेका छन् । हाल गाउँपालिकामा ४५ जनामा क्यान्सर पुष्टी भएको र उनीहरुको उपचारमा गाउँपालिकाले सहयोग गरिरहेको उनले बताए ।