पाल्पा– गाउँपालिकामा सञ्चालन हुन लागेको दादुरा तथा रुबेला खोप अभियानमा कुनैपनि बालबालिका नछुटुन् भनेर तिनाउ गाउँपालिकाले पुर्व तयारी गरेको छ । पालिकाका स्वास्थ्य स्वयमंसेविका र स्वास्थ्यकर्मीले विद्यालय र घरघरमा पुगेर खोप अभियानमा सहभागीता जनाउन अनुरोध गरेका छन् ।
स्वास्थ्य स्वयमंसेविका र स्वास्थ्यकर्मी गरि ५२ जनाले बालबालिकाको घरमा पुगेर खोप अभियानमा सहभागिता जनाउन अनुरोध गरेको गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक कृष्ण कार्कीले बताए । उनका अनुसार गाउँपालिकामा रहेका ४० जना स्वयंसेविका र १२ जना स्वास्थ्यकर्मी घर घरमा पुगेर खोप अभियानमा सहभागी हुने निमन्त्रणा दिइरहेका छन् ।
गाउँपालिकाका स्वास्थ्यकर्मी तथा स्वमंसेविकाले बिहीबारदेखि खोप उमेर समुहका बालबालिकाको घर घरमा पुगेर खोपका लागि निमन्त्रणा दिएको उनले बताए ।
गाउँपालिकाले विद्यालयमा गएर विद्यार्थीलाई आफ्नो परिवार र छिमेकमा रहेका बालबालिकालाई खोपबाट छुट्न नदिन जानकारी दिएको उनले पालिकाखबरलाई सुनाए । ९ महिना देखि ५९ महिनाका बालबालिकालाई आगामी आइतबारदेखि ३ दिनसम्म तिनाउ गाउँपालिकाले दादुरा तथा रुबेला खोप अभियान सञ्चालन गर्दै छ ।