मुगु- सोरु गाँउपालिका– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ ।
भाइरल ज्वरोले सोरु गाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका– ६ जिमा गाँउका कर्णजित बुमीले बताए ।
जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्च, लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् ।
गाँउभर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उनले गुनासो गरे । विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन् । स्वास्थ्यचौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उनले बताए ।
यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मङ्गलबार चिकित्सकसहितको टोलीबाट सोरु गाँउपालिका, पुरुमुरु र जिमा गाँउका १५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ ।