close

विकासले ल्याएकाे विकृति : सुन बेचेर घुन किन्दै स्थानीय

विकासले ल्याएकाे विकृति : सुन बेचेर घुन किन्दै स्थानीय

Trulli
ADVERTISEMENT

जुम्ला- स्वास्थ्य स्वयंसेविकाको काम भन्नेबित्तिकै प्राथमिक स्वास्थ्यभित्र पर्ने खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, झाडापखाला, श्वासप्रश्वास नियन्त्रणलगायत प्राथमिकतामा पर्नुपर्ने हो । त्यस्तै गर्भवति, सुत्केरीलगायतको स्वास्थ्य अवस्थाबारे स्वास्थ्यचौकीलाई जानकारी दिनु पनि हो । अर्थात् वडावासीका आधारभूत प्राथमिक स्वास्थ्य सेवा र समस्याबारे सबैभन्दा नजिकको सेवकनै स्वास्थ्य स्वयंसेविका हुन् । 

तर, पातारासी गाउँपालिकाकी महिला स्वास्थ्य स्वयंसेविका जयलक्ष्मी बुढाको दैनिकी आजकल फरक छ । गाउँमा विकाससँगै आएको विकृतिका कारण उनले आफ्नो भूमिकानै परिवर्तन गर्नुपरेको छ । करिब १०/१२ वर्षअघि उनी माथि उल्लेखित सेवामै व्यस्त थिइन् । पहिले स्वास्थ्य सुरक्षालगायतका जनचेतनामूलक कार्यक्रममा सहभागी हुने गर्थिन् तर आजभोलि उनी यो खानु हुँदैन/यो खानुपर्छ भन्दै सचेतना फैलाउन व्यस्त हुनु परेको छ । 

'मैले काम गर्दा पालिकामा सडककाे विकास भएकाे  थिएन । हिडेरै सेवा  दिनु पर्थ्याे,' उनले भनिन्, 'तर आजभाेलि सडक विकास भएकाे छ । साथै स्थानीयकाे जीवनशैली पनि फेरिएको छ ।'

उनले पालिकाखबरसँग भनिन् 'आजभोलि अधिकांश समय जंकफुड प्रयोग गर्नुहुँदैन भन्नेबारे जनचेतना फैलाउन व्यस्त हुन्छु । स्कूल तथा समुदायमा गएर जंकफुडको प्रयोगबाट हुने बेफाइदाबारे जानकारी दिन्छु ।' हानिकारक चिल्लो, नुन र चिनी बढी भएको र पोषण कम हुने खाना नै जंकफुड हो । यसले  क्षणिक स्वाद र सन्तुष्टि प्रदान गर्छ । तर स्वास्थ्यका लागि कम लाभदायक हुन्छ । 

उनले सेवा सुरु गर्दा पालिकामा जंकफुडबारे कसैलाई जानकारी नभएको उनले पालिकाखबरलाई सुनाइन् । तर गाउँपालिकामा सडक सञ्जालजोडिएपछि जंकफुडबारे स्थानीय बासिन्दाले थाहा पाएको उनको  अनुभव छ । 'सुरुवाती दिनमा यस क्षेत्रमा जंकफुड पाइदैन थियो । तर आजभोलि सबैलाई थाहा छ,' उनले भनिन्, 'स्थानीय बालीभन्दा पनि जंकफुडको प्रयोग बढ्दो छ ।' 

गाउँपालिकाभित्र बालबालिकासँगै युवा तथा युवतीमा  जंकफुडको प्रयोग बढ्दो क्रममा रहेको पालिकाखबरलाई सुनाइन् । उनका अनुसार गाउँपालिकामा चाउचाउ, बिस्कुट, चाउमिन तथा मम बढी मात्रामा प्रयोग हुँदै आएको छ । 

स्थानीय बासिन्दाले रैथाने खाद्यान्न बाली बेचेर पनि जंकफुड खरिद हुँदै आएको उनको भनाइ छ । 'यहाँ मकै, कोदो, फापरलगायतको खाद्यान्न बाली उत्पादन हुन्छ', उनले भनिन्, 'अधिकांश स्थानीय बासिन्दाले सोही बाली बेचेर जंकफुड किनेर खानुहुन्छ ।'

जंकफुडको प्रयोग बढेपछि गाउँपालिकाभित्रका विभिन्न संघ संस्थाले सो विरुद्ध अभियान सञ्चालन गर्दै आएको उनले बताइन् । साथै विद्यालयमासमेत जंकफुड निषेध गरिएको उनको भनाइ छ ।

जंकफुडको प्रयोग बढेपछि विद्यालयले अर्गानिक बालीलाई खाजाको रुपमा प्रयोग गराउन थालिएको छ ।  । 'विद्यालयले पनि दिवा खाजामा अर्गानिक खाजा अनिवार्य गरिएको छ,' उनले भनिन्, 'विद्यालयले जंकफुड प्रयोग कम गर्न जनचेतना फैलाउँदै आएको छ ।’ जंकफुडले बालबालिकाको स्मरण शक्ति तथा शारीरिक रुपमा विभिन्न समस्या परेको उनले सुनाइन् । 

गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक रतन बड्थापाका अनुसार तुलनात्मक रुपमा गाउँपालिकामा परम्परागत खाद्यान्नको प्रयोग घट्दै गएको छ । गाउँपालिकाको मुख्य पेशा कृषि र जडिबुटी संकलन गर्ने भएकाले अधिकांशले सोही पेसाबाट जिविकोपार्जन गर्दै आएको उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार स्थानीय बासिन्दाले खाना तथा खाजामा रैथानै मकै, कोदो र फापरको प्रयोग गर्ने गर्छन् । तर सडक निर्माण भएसँगै स्थानीयको खानपानमा परिवर्तन उनको अनुभव छ । 

'स्थानीय सरकार भएपछि मात्रै यहाँ सडकको विकास भयो,' उनले भने, 'सडक विकास भएपछि यातायातको पहुँच भयो र डिलरले पालिकाभित्र जंकफुड भित्र्यायो ।' ज‌ंकफुडकाे प्रयाेग कम गर्नका लागि गाउँपालिकाले विभिन्न संस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्दै आइरहे पनि न्यून हुन नसकेको उनको भनाइ छ ।