नुवाकोट– किस्पाङ गाउँपालिकाले पालिकावासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले विभिन्न शिविर सञ्चलान गरेर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो ।
गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई लक्षित गरेर वडा वडामा दिर्घरोगसम्बन्धी शिविर सञ्चालन गर्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख चक्र बहादुर शाहीले बताए । महिलाहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सरको शिविर पनि सञ्चालन गरिने उनले जानकारी दिए । उनको अनुसार गाउँपालिकाले गत आवमा आँखा शिविर सञ्चालन गरेको थियो । शिविरको कार्यक्रमलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिएको उनले बताए ।
गाउँपालिकाले सुरक्षित मातृत्व, सुनौलो हजार दिनका आमालाई पोषण कार्यक्रम सञ्चालन गरेको छ । ‘सुत्केरीलाई नेपाल सरकारले दिने भत्ता बाहेक गाउँपालिकाले थप ३ हजार भत्ता दिन्छ,’ उनले भने । यस्तै गाउँपालिकाले स्वास्थ्य स्वंसेविकालाई विभिन्न ठाउँमा खोप लगाउन गएवापत यातायात खर्च भनेर प्रतिमहिना एक हजार उपलब्ध गराउने उनले बताए ।
किस्पाङ गाउँपालिकाभित्र ६ वटा स्वास्थ्य चौकी र एउटा ल्याब सञ्चालनमा रहेका छन् । सबै स्वास्थ्य चौकी पक्की भवनबाट सञ्चालन हुनुका साथै त्यसमा बर्थिङ सेन्टर पनि रहेको उनले जानकारी दिए । ६ वटा स्वास्थ्य चौकीको लागि गाउँपालिकाको आफ्नै ३ वटा एम्बुलेन्स सञ्चालनमा रहेको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि ७० लाख रुपैयाँ विनियोजन गरेको उनले बताए ।