close

मेरिङदेन गाउँपालिकाको ‘घरमा शून्य सुत्केरी’ कार्यक्रम

मेरिङदेन गाउँपालिकाको ‘घरमा शून्य सुत्केरी’ कार्यक्रम

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला अस्पतालपछि सबैभन्दा धेरै मेरिङदेन गाउँपालिकाको बर्थिङ सेन्टरमा बच्चा जन्मने गरेका छन् । गाउँपालिकाले विगत ४ वर्षदेखि  ‘घरमा शून्य सुत्केरी’ कार्यक्रम लागू गरेपछि बर्थिङ सेन्टरमा सुत्केरी हुनेको बढेको हो । 

पछिल्लो एक वर्षमा गाउँपालिकाभरिमा ११९ जना गर्भवती बर्थिङ सेन्टरमा सुत्केरी हुँदा १० जना भने घरमै सुत्केरी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदयकुमार यादवले बताए । ‘९० प्रतिशतभन्दा धेरै गर्भवतीको बर्थिङ सेन्टरमा प्रसूति भयो भने त्यसलाई नेपाल सरकारले घरमा शून्य सुत्केरी मान्ने गरेको छ,’ उनले भने ।  गाउँपालिकाले ‘घरमा शून्य सुत्केरी’ कार्यक्रम लागू गरेयता गाउँपालिकामा मातृ मृत्युदर शुन्य भएको उनले बताए । 

६ वटा वडा रहेको मेरिङदेनमा ४ वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । ‘घरमा शून्य सुत्केरी’ कार्यक्रम’ अनुसार कोही गर्भवती भएको थाहा पाएपछि उनीहरुको घरमै गाउँपालिकका स्वास्थ्यकर्मी गएर स्वास्थ्य संस्थामा जाँचको लागि जान गर्भवती र उनको परिवारलाई परामर्श दिने गरिएको छ । परामर्शसँगै सुरक्षा कार्ड उपलब्ध गराइने शाखा प्रमुख यादवले बताए । 

गर्भावस्थामा ८ पटक गर्भ जाँच गराउनुपर्ने हुन्छ । गर्भवती स्वास्थ्य संस्थामा जाँच गर्न पहिलोपटक जाँदा गाउँपालिकाले ‘आयो–प्रोटिन व्यक्तिगत सरसफाई झोला’ उपलब्ध गराउने गरेको उनले बताए । ‘आयो–प्रोटिन व्यक्तिगत सरसफाई झोलामा १ किलो मटर, १ किलो नुन, एक लिटर तेल, एक जोर कपडा, लुगाधुने साबुन, नेल कटर उपलब्ध गराइन्छ,’ उनले पालिकाखबरसँग भने । 

यसबाहेक गाउँपालिकाले निःशुल्क भिडियो एक्सरे गर्ने गरेको छ । गाउँपालिकामा रहेको सानथाक्रा बेसिक ल्याबमा रुलर अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत ४ पटकसम्म भिडियो एक्सरे निःशुल्क हुने शाखा प्रमुख यादवले बताए । 

गाउँपालिकाभित्र प्रसुति गर्न नसकिएका जटिल बिरामीलाई पालिकाबाहिर रिफर गर्दा यातयात खर्च पालिकाले व्यहोर्ने उनले बताए । पालिकाको एम्बुलेन्सले गर्भवतीको घरमै गएर निःशुल्क बर्थिङ सेन्टरसम्म लैजाने गरेको छ । 

सरकारले स्वास्थ्य संस्थामा प्रसूति गराएबापत ३ हजार उपलब्ध गराउने रकमबाहेक गाउँपालिकाले वडाको सिफारिसमा विपन्न सुत्केरीलाई गाउँपालिकाले थप पाँच हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ । बर्थिङ सेन्टरमा गएर सन्तान जन्माएका हरेक सुत्केरीलाई न्यानो झोलाबाहेक आयो–प्रोटिन व्यक्तिगत सरसफाइ झोला, थप व्लाङकेट, बेबी ¥यापर उपलब्ध गराउने गरिएको उनले बताए ।