रसुवा– उत्तरगया गाउँपालिकाले टेलिमेडिसियन अनलाइन सेवा दिँदै आएको छ । चालु आर्थिक वर्षमा टेलिमेडियिसन सेवा सञ्चालनको कार्यक्रमअनुसार गत साउनदेखि सो सेवा गाउँपालिकाले उपलब्ध गराएकाे हो ।
टेलिमेडिसियन सेवाबाट विशेषज्ञ डाक्टरसँग जनताले अनलाइनबाट प्रत्यक्ष कुराकानी गरेर पाइने सेवा रहेको गाउँपालिकाका सिनियर अहेव तथा रोजगार शाखा प्रमुख रबिन्द्र ठकुरीले बताए । उनको अनुसार पालिकाभित्र रहेका ६ वटा स्वास्थ्य संस्थामध्ये २ वटा स्वास्थ्य चौकीबाट स्थानीयले सिधै काठमाडौंमा रहेका रोगका प्रकृतिअनुसारको विशेषज्ञ डाक्टरसँग परामर्श लिएर उपचार सक्ने छन् । सो कार्यक्रमको लागि काठमाडौंमा रहेको मोडेल अस्पतालसँग गाउँपालिकाले सम्झौता गरिसकेको छ ।
टेलिमेडिसियन सेवाको लागि स्वास्थ्य संस्थामा गाउँपालिकाले स्मार्ट टिभि, औजार उपकरण किनेको छ । स्वास्थ्य संस्थामा रहेका स्वास्थ्य कर्मीले बिरामीको चेकजाँच गरेर विशेषज्ञ डाक्टरसँग अनलाइनमार्फत कनेक्ट भएर छलफल गरेर उपचार गरिरहेको शाखा प्रमुख ठकुरीले बताए । उनले भने, ‘यस किसिकको उपचार बिरामीले निःशुल्क पाउने व्यवस्था मिलाइएको छ । विशेषज्ञ डाक्टरलाई भने पालिकाले सेवा सुविधा उपलब्ध गराएको छ ।’
पालिकाको भौतिक अवस्थाका कारण पालिकामा अस्पताल नै बनाउनको लागि समस्या भएपनि स्थानीयलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन गाउँपालिकाले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।