close

नवजात छोरीको खातामा हुप्सेकोटको पाँच हजार

नवजात छोरीको खातामा हुप्सेकोटको पाँच हजार

Trulli
ADVERTISEMENT

नवलपरासी - हुप्सेकोट गाउँपालिकाले पालिकाभित्र जन्मिएका छोरीको खातामा पाँच हजार रुपैयाँ जम्मा गराउँदै आएको छ । गाउँपालिकाले  'छोरीको सुनौलो भविष्य' कार्यक्रमअन्तर्गत पाँच हजार रुपैयाँ जम्मा गराउँदै आएको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक कृष्णप्रसाद सापकोटका अनुसार पालिकाले विगत दुई वर्षदेखि सो रकम वितरण गर्दै आएको छ । छोरीको नाममा बचत गर्ने बानी बसाल्न तथा छोरीको उज्वल भविष्यको लागि सो कार्यक्रम सञ्चालन गर्दै आएको उनले पालिका खबरलाई बताए । 

गाउँपालिकाले जम्मा गरेको खातामा परिवारका सदस्यले पनि रकम राख्न सक्ने उनले सुनाए । सो रकम छोरीको नागरिकता बनिसकेपछि मात्रै निकाल्न मिल्ने उनको भनाइ छ । 

छोरीको नाममा रकम जम्मा गर्नको लागि सम्बन्धित वडा कार्यालयको सिफारिस, जन्मदर्ता र आमाको नागरिकता आवश्यक पर्ने उनले बताए । सो रकम छोरीको उच्च शिक्षा तथा व्यवसायमा लगानी गर्न सकिने उनले बताए । 

गाउँपालिकाले हालसम्म १२० जना छोरीको नाउँमा सो रकम जम्मा गरिसकेको उनले बताए । चालू आर्थिक वर्ष २०८०/०८१ मा आवश्यकता परे अनुरुपको बजेट विनियोजन गरिएको उनले सुनाए ।