close

भौगोलिक विकटताका कारण ३ जनाले बाटोमै बच्चा जन्माए

भौगोलिक विकटताका कारण ३ जनाले बाटोमै बच्चा जन्माए

Trulli
ADVERTISEMENT

संखुवासभा– भोटखोला गाउँपालिकाले घरमा सुत्केरी गराउनेको संख्या शून्यमा झार्न लक्ष्य लिएको छ । पछिल्लो तथ्यांकअनुसार ९५ प्रतिशतले बर्थिङ सेन्टरमा पुगेर सुत्केरी गराएका गाउँपालिकाको तथ्यांकमा उल्लेख छ । 

घरमै सुत्केरी हुने तथा बर्थिङ सेन्टरमा लैजाँदै गर्दा बाटोमै सुत्केरी हुनेको संख्या पछिल्लो एक वर्षमा ३ जना रहेको पालिकाका स्वास्थ्य संयोजक फूर्पु भोटेले बताए । पालिकाभित्र पाँच वटा बर्थिङ सेन्टर रहेको उनले जानकारी दिए । पालिकाका स्वास्थ्य संस्थाले गर्भवतीहरूलाई बर्थिङ सेन्टरमा रिफर गरेर पठाउने गरेको उनले बताए । यस्तै, प्रत्येक स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ स्टाफहरूलाई डेलिभरिसम्बन्धि आधारभुत तालिम उपलब्ध गराएको उनले जानकारी दिए । 

‘रिफर गर्दा पनि उनीहरु बर्थिङ सेन्टरसम्म पुग्नै नसक्ने अवस्थामा आयो भने नर्सिङ स्टाफहरु घरमै गएर नर्मल डेलिभरिलाई सहयोग गर्ने काम गछौँ,’ उनले पालिकाखबरसँग भने । पालिकाभित्र थप एउटा बर्थिङ सेन्टर स्थापनाको लागि जिल्लास्थित स्वास्थ्य कार्यालयमा निवेदन दिएको उनले सुनाए । 

नेपाल सरकारको ‘एक पालिका एक अस्पताल’को नीति अनुसार अस्पताल निर्माणको काम भइरहेको उनले जानकारी दिए । ‘अस्पतालको ढलान यो वर्ष हुन्छ होला । अर्को वर्ष बनेर सकिन्छ की,’ ठेकेदारहरुले थोरै थोरै गरेर काम गरेकाले अस्पतालन निर्माणमा ढिलो हुँदा स्थानीय मर्कामा परेको उनले बताए । 

पालिकाभित्रका कुनै वडाले चीनलाई पनि छोएको जानकारी दिँदै पालिकाले स्थानीयमा स्वास्थ्यको पहुँच पुर्‍याउन विशेषज्ञ शिविर सञ्चालन गर्ने कार्यक्रम राखेको उनले जानकारी दिए । ‘पालिकाको केन्द्रमा पर्ने गरी वडा नं २ र ४ मा यस वर्ष विषेशज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम छ,’ उनले भने । 

पालिकाभित्र स्वास्थय चौकी ३ वटा, आधारभूत स्वास्थ्य केन्द्र २ वटा, सामुदायिक स्वास्थ्य इकाई १२ ओटा र एउटा निजी क्लिनिक गरी १८ वटा स्वास्थ्य संस्था रहेको स्वास्थ्य संयोजक भोटेले जानकारी दिए ।