काठमाडौँं - चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच भेटर्वार्ता भएको छ । नगरपालिकामा निर्माण हुँदै गरेको प्राथमिक अस्पतालसँगै प्रसुती विशेषज्ञ निर्माणबारे छलफल गर्नको लागि सो बैठक सम्पन्न भएको हो ।
नगरपालिकामा जर्मन सरकारको सहकार्यमा निर्माण हुन लागेको १ अर्ब बराबरको प्रसुति विशेषज्ञ अस्पतालको निर्माणका जर्मन बिकास बैंकबाट बजेट निकासाको कार्य सम्पन्न, जर्मन सरकारद्वारा प्राविधिक तथा कन्सल्टेन्ट छनौट कार्य पनि भइसकेको नगरप्रमुख गिरीले बताएका छन् ।
बैठकमा १ अर्ब बजेट निर्माण हुन लागेको प्रसुति विशेषज्ञ अस्पतालको निर्माण प्रकृयाको प्रगति विवरण र अब नगरपालिकाले गर्नु पर्ने कार्यहरुका बारेमा विश्लेषण तथा छलफल भएको उनले जनाए । नगरप्रमुख गिरीका अनुसार नगरपालिकाले अस्पताल निर्माण गर्न नेपाल सरकारको मन्त्री परिषद्को निर्णय मार्फत सो क्षेत्रमा २३ रोपनी जग्गा प्राप्तिको प्रकृया टुङ्गीसकेको छ ।
साथै सोही स्थानमा अर्को २५ शैयाको डायलासिस सेवासहितको अस्पतालको पनि टेण्डर प्रकृया सकेर निर्माण कार्य पनि करिब १९ करोड लागतमा शुरु भइसकेको उनले बताए । बैठकमा उपस्थित जर्मन विकास बैंकका प्रतिनिधिले बजेट निकासाको कार्य सम्पन्न भइसकेको र उक्त प्रसुति बिशेषज्ञ अस्पताल निर्माण गर्न जर्मन सरकारले कन्सल्टेन्ट तथा प्राविधिक पनि छनौट गरिसकेको कुरा जानकारी गराए।