काठमाडौं । नेपालमा पछिल्लो साता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै ८९५ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ रहेको छ। कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ९ लाख ८७ हजार २२८ जना र एन्टीजेन परीक्षणबाट एक लाख ४२ हजार ८९६ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा२६४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७० हजार ३२६ पुगेको छ।
यो संख्या पछिल्लो हप्ता लगातार बढ्न थालेको मन्त्रालयको तथ्यांकले देखाउँछ । पछिल्लो हप्ताको तथ्यांकअनुसार साउन ९ गते ५६८ नयाँ संक्रमित थप भएका थिए । त्यस्तै क्रमशः साउन १० गते ६३८, साउन ११ गते ५६४, साउन १२ गते ७१०, साउन १३ गते ५७७, साउन १४ गते ४३८ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै हिजो आइतबार ६२० नयाँ संक्रमित थप हुँदा २ जनाको संक्रमणबाट ज्यान गएको थियो भने आज सबैभन्दा धेरै ८९५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।