close

बर्छैन स्वस्थ्यचौकीको एम्बुलेन्स व्यक्तिगत प्रयोजनमा प्रयोग

बर्छैन स्वस्थ्यचौकीको एम्बुलेन्स व्यक्तिगत प्रयोजनमा प्रयोग

Trulli
ADVERTISEMENT

डोटी । जिल्लाको दुर्गम बडीकेदार गाउँपालिकामा एम्बुलेन्सको दुरुपयोग भएको छ । 

सो क्षेत्रका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउनका लागि सञ्चालन गरिएको एम्बुलेन्सको दुरुपयोग भएको हो ।

बडीकेदार गाउँपालिका– १ बर्छैन स्वास्थ्यचौकीको एम्बुलेन्स व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको स्थानीय रमेश नेपालीले बताए । 

‘गरिबीको रेखामुनि रहेका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउनका लागि सञ्चालन गरिएको बर्छैन स्वस्थ्यचौकीको एम्बुलेन्स व्यक्तिगत प्रयोजनमा प्रयोग हुँदा बिरामीलाई समस्या भएको छ,’ उनले भने । 

बिरामीका लागि प्रयोग हुने एम्बुलेन्स व्यक्तिगत कामका लागि प्रयोग हुने गरेको उनको आरोप छ । 

बर्छैन स्वस्थ्यचौकीको एम्बुलेन्स गैरव्यक्तिले चलाउने, सरसामान बोक्ने, आवतजावत गर्नेलगायत निजी काममा प्रयोग हुने गरेको स्थानीयको आरोप छ । 

एम्बुलेन्सको दुरुपयोग हुँदा गत बिहीबार राति दुर्घटना भएको थियो । चालक तेज बोहोराले काका पुष्कर बोहोरालाई घर पुर्‍याउने क्रममा बिपीनगरको सुवाखान भन्ने ठाउँमा एम्बुलेन्स दुर्घटनामा परेको थियो । 

स्थानीयले एम्बुलेन्स दुर्घटना भएको विषयमा छानबिन गर्न माग गरेका छन् । गैरचालकले जाँडरक्सी खाएर एम्बुलेन्स चलाउँदा दुर्घटना भएको भन्दै स्थानीयले छानबिनको माग गरेको बडीकेदार–१ का स्थानीय पदमबहादुर भाटले बताए ।

तर, एम्बुलेन्स चालक तेज बोहराले बदेलसँग ठोक्किएर एम्बुलेन्स दुर्घटनामा परेको दाबी गरेका छन् ।

यता, वडा नम्बर १ का वडाअध्यक्ष डम्बरबहादुर बोहरा भने दुर्घटनाको वास्तविकता चालकलाई नै थाहा हुने भन्दै पन्छिएका छन् । 

स्थानीयवासीले भने एम्बुलेन्स गैरचालकले जाँडरक्सी खाएर चलाउँदा दुर्घटना भएकाको बताए । स्थानीयले सिधा सडक छ, जनावर भेटिए पनि टाढैबाट देखिने ठाउँ छ, कसरी दुर्घटना भयो भन्दै त्यसको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । 

दुर्घटनामा परेका चालक बोहोरा र एम्बुलेन्स भने सकुसल छन् ।