close

बागमती गाउँपालिकामा खानेपानी प्रयोगशाला स्थापना हुने

बागमती गाउँपालिकामा खानेपानी प्रयोगशाला स्थापना हुने

Trulli
ADVERTISEMENT

काठमाडौँ । पानीजन्य रोगहरूबाट बच्न र समुदायमा हैजा, झाडापखालाजस्ता रोग फैलिन नदिन खानेपानीको गुणस्तर सुनिश्चित गर्न नेपाल सरकारले हालै ‘राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९’ जारी गरेको छ । उक्त मापदण्डमा हरेक खानेपानी सेवा प्रदायक संस्थाले खानेपानीको अनिवार्य परीक्षण गरि गुणस्तर सुनिश्चित गरेर मात्र वितरण गर्नुपर्ने प्रावधान छ । 

खानेपानीको गुणस्तर मापनका लागि युनिसेफ नेपालको आर्थिक सहयोग र स्थानीय सरकारसँगको सहकार्यमा शहरी वातावरण व्यवस्थापन समाज (यूम्स‍्) ले २०७८ मंसिरदेखि ललितपुरमा "Achieving Resilient and Water Safe Communities in Urban and Peri-urban areas of Lalitpur District" परियोजना संचालन गरिरहेको छ । ललितपुर महानगर भित्रका चार वटा समुदाय र बागमती गाउँपालिकाका तीन वटा समुदाय गरी सात वटा समुदायमा हाल यो कार्यक्रम संचालनमा छ । 

यस परियोजनाको मूख्य उद्देश्य समुदायहरूमा खानेपानीको गुणस्तर र स्वच्छता सम्बन्धमा सचेतना बढाउने, स्थानीयस्तरमा क्षमता अभिवृद्धि गर्ने र सुरक्षित खानेपानीयुक्त समुदाय बनाउने रहेको छ । सुरक्षित खानेपानीयुक्त समुदाय बनाउनका लागि पालिका तहमा खानेपानी गुणस्तर अनुगमन संयन्त्र र खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गर्न आवश्यक पनि छ । यस परियोजनाको उद्देश्यहरूमध्ये स्थानीय स्तरमा खानेपानीको गुणस्तर परिक्षण सहज र सुलभ गर्न यूम्स‍्ले युनिसेफ नेपाल र सरोकारवालासँगको समन्वय, सल्लाह र सहयोगमा ललितपुर महानगरमा एक वटा र बागमती गाउँपालिकामा एक वटा गरी दुई वटा खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला (मिनी ल्याव) स्थापना गर्ने भएको छ । यसका लागि यूम्स‍्ले खानेपानी गुणस्तर परीक्षणसम्बन्धी तालिमका साथै आवश्यक उपकरण एवम् सरसामग्री उपलव्ध गराउनेछ ।

यूम्स‍्ले यसै परियोजना अन्तर्गत यही साउन ६ गते शुक्रबार बागमती गाउँपालिकाको कार्यालय, भट्टेडाँडामा अवस्थित स्वास्थ्यचौकीमा खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला (मिनी ल्याव) स्थापनाका लागि आवश्यक उपकरणहरू र सरसामग्रीहरू हस्तान्तरण गरेको छ । 

उक्त हस्तान्तरण कार्यक्रममा बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई, स्वास्थ्य शाखा प्रमुख नवराज तिमिल्सिना, बागमती गाउँपालिकाका स्वास्थ्य चौकीमा कार्यरत डाक्टर प्रकाश दंगाल, स्वास्थ्य चौकी इन्चार्ज निशा बि.सी., स्वास्थ्य सहायक पुण्डारी दुलाल, टेक्निसियन एण्डी जिम्बा साथै यूम्स‍्का कर्मचारीहरू हेरिना जोशी, सजना महर्जन र अनुशा महर्जनको उपस्थित रहेको थियो ।

बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले प्रयोगशाला स्थापना भएपछि गाउँपालिकाभित्रका खानेपानी तथा सरसफाइ समितिले पानीको गुणस्तर परीक्षण गर्न सहयोग पुग्ने बताए । उनले परीक्षण सामग्रीको जिम्मा लिनुका साथै सम्बन्धित कर्मचारीहरूलाई प्राप्त सबै उपकरणहरू र सरसामग्रीहरूको उचित रेखदेख, सदुपयोग र व्यवस्थापन गर्न निर्देशन दिए ।