काठमाडौँ । पछिल्लो २४ घण्टामा ४ सय ५६ जना कोरोनाका सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ८३८ जनामा परीक्षण गरिएकोमा ४५६ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो परीक्षण नमुनाको झन्डै १२ प्रतिशत सङ्क्रमण हो ।
हाल देशभरि २ हजार ८४१ सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा ८० जना कोरोना मुक्त भएका छन् ।
उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्न थालेको बताउँदै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ।
मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले सूचना जारी गरी भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउन नागरिकलाई आग्रह गरेका छन्। भिडभाड हुने, विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायातजस्ता स्थानमा मास्क अनिवार्य प्रयोग गर्न सुझाव दिइएको छ।
यस्तै, मन्त्रालयले कोरोनाविरुद्ध खोप नलगाएका नागरिकलाई लगाउन अनुरोध गरेको छ। कसैलाई कोरोना लागे अस्पताल गई उपचार गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।