रुपन्देही । सरकारी अस्पतालमा सेवा लिने बिरामीले निःशुल्क रगत पाउने भएका छन् ।
प्रदेश सरकारले २०७९ साउन १ गतेदेखि लागू हुने गरी रगतमा लाग्ने सबै शुल्क निःशुल्क गरेपछि सो अस्पतालमा उपचार गर्ने सबै बिरामीले निःशुल्क रगत पाउने भएका हुन् ।
बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलमा रहेको रक्तसंचार केन्द्रबीच रगतका लागि लाग्ने सबै सेवा शुल्क निःशुल्क गर्ने सहमति भएको छ ।
साउन १ गतेदेखि अस्पतालको सिफारिसमा रक्तसंचार केन्द्रले कुनै पनि सेवा शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो ।
लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट रगतमा लाग्ने सेवा शुल्क सरकारले दिने रक्त संचारकेन्द्र बुटवलका संयोजक तथा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महामन्त्री कृष्ण पंगेनीले बताए ।
उनले प्रदेशभर ६० लाख रगत संकलन र व्यवस्थापन रेडक्रसमार्फत् भइरहेको बताउँदै अब सरकारी अस्पतालमा रगतका लागि लाग्ने सेवा शुल्क सरकारले दिने बताए ।