काठमाडौं । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको छ ।
झाडा पखाला भएर अस्पताल भर्ना भएका काठमाडौं महानगरपालिका- २८ बागबजारका १८ र २३ वर्षका दुई बिरामीको नमूना परीक्षणबाट हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
‘हैजाका दुवै बिरामी एकै परिवारका सदस्य रहेको जानकारी प्राप्त भएको छ, उनीहरुको हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ,'मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजन्य रोगको जोखिम धेरै हुने भएकाले पानी उमालेर वा क्लोरिन प्रयोग गरी पिउन, खानपान र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।