झापा–सरकारले २०८८ सम्म स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकलाई समेट्ने राष्ट्रिय नीति अवलम्बन गरेको छ । यो योजना पूरा गर्न झापाको भद्रपुर नगरपालिकाले सफलता पाउँदै गएको छ । दिगो विकासको लक्ष्यमा सबैको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने आधारशिला तयार गर्ने गरी निर्माण गरिएका स्वास्थ्य पूर्वाधारले नगरको गौरव मात्र नभई पहिचान बढाउन सहयोग पुगेको छ ।
स्वास्थ्य नै ठूलो धन हो भन्ने मूल मर्मलाई आत्मसात् गर्दै भद्रपुर नगरपालिकाले सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिइरहेको छ । निर्वाचित भएर आएको पहिलो आर्थिक वर्षमै ज्येष्ठ नागरिकसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत विभिन्न वडामा स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
वडा नम्बर ६ मा छुट्टै ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरी सेवालाई निरन्तरता दिइएको छ । सीमासँग जोडिएका क्षेत्रमा हेल्थ डेस्क राख्नेदेखि गाउँघरमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठ
बताउँछन् ।
आमासँग नगर उपप्रमुख कार्यक्रम नगरपालिकाको अर्को महत्त्वपूर्ण सफलता हो । १ हजार बढी विपन्न सुत्केरीलाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको छ । गर्भवतीको नियमित स्वास्थ्य परीक्षण र शिशु स्याहार कार्यक्रम सफल हुँदै गएको छ । नगरपालिकालाई पूर्ण खोपयुक्त नगर बनाउन सफलता मिलेको नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठको भनाइ छ ।
कुष्ठरोग, क्षयरोग, कालाजार तथा डेंगुका बिरामी पहिचान गरी वडास्तरीय स्वास्थ्य संस्थाबाट निःशुल्क औषधी वितरण गर्ने कार्यक्रम निरन्तर सञ्चालनमा छ । झापामै पहिलो पटक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको छ । वडा तहमै बीमा अभिकर्ताको काम थालनी भई निःशुल्क औषधोपचारको व्यवस्था गरिएको छ ।
बर्थिङ सेन्टरबाट निःशुल्क सुत्केरी गराउने र पोषण भत्ता उपलब्ध गराइँदै आएको छ । कृष्णनगर स्वास्थ्य चौकी, महेशपुर स्वास्थ्य चौकी तथा महिनैपिच्छे गाउँघर र टोल–टोलमा स्वास्थ्यकर्मी पुगेर सेवा दिने गरिएको पृथ्वीनगर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक नेत्रप्रसाद दाहालले जानकारी दिए ।
नगरपालिकाले हालसम्म सञ्चालन गरेका विभिन्न कार्यक्रमका लागि प्रत्येक आर्थिक वर्षमा २ करोड रुपैयाँ बढी रकम छुट्याएको छ । नगरपालिकाले स्वास्थ्य क्षेत्रमा आर्थिक वर्ष ०७६/७७ मा २ करोड ६२ लाख २६ हजार, आव ०७७/७८ मा २ करोड ९५ लाख खर्च गरी पूर्वाधार तथा स्वास्थ्य संस्थाको स्तरोन्नति गरेको छ ।
आव ०७८/७९ मा ३ करोड ३५ लाख रुपैयाँ विनियोजन गर्दै कोभिड नियन्त्रण र रोकथाममा काम गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले बताए ।
१५ शय्याको नगर अस्पताल निर्माणाधीन छ । नगरबासीलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकाले विषयगत विज्ञ चिकित्सक र नियमित ओपीडी सेवाका लागि मेडिकल अफिसर नियुक्त गरेको छ । सबै स्वास्थ्य संस्थाबाट सर्वसुलभ सेवा प्रदान होस् भनेर २४ घन्टै उपलब्ध हुने गरी एम्बुलेन्स, शव वाहन, दमकल उपलब्ध गराएको छ ।
स्वस्थ नागरिकबिना समृद्ध नगर बन्न सक्दैन भन्ने मूल मन्त्र अंगीकार गरेको भद्रपुरले वार्षिक ४२ हजार बढी नागरिकलाई स्वास्थ्य सेवा दिइरहेको छ । यसले पनि स्वास्थ्यमा सबैको सर्वसुलभ पहुँच पु¥याउन भद्रपुर नगरपालिका सफल भएको देखिन्छ ।