इलाम–स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच पु र्याउन इलामको सूर्योदय नगरपालिकाका जनप्रतिनिधि तल्लीन छन् । निर्वाचित भएसँगै जनप्रतिनिधिले स्वास्थ्य केन्द्र स्थापना र अस्पताल निर्माणलाई प्राथमिकतामा राख्दै आएका छन् । जनप्रतिनिधिको प्रयत्नकै कारण नागरिकले स्वास्थ्य संस्थाबाट सहजै उपचार पाउने अवस्था बनेको छ । नियमित स्वास्थ्य सेवा र कोरोना महामारी नियन्त्रणमा नगरपालिकाले गरेको पहल सफल भएको छ ।
सूर्योदय नगरपालिकाका १४ मध्ये १३ वटा वडामा स्वास्थ्य संस्था स्थापना भइसकेका छन् । १२ वटाको आप्mनै भवन छ । नगरका २७ स्थानमा खोप क्लिनिक विस्तार भएको छ भने ३३ ठाउँमा गाउँ–घर क्लिनिक सञ्चालनमा छन् । विभिन्न स्वास्थ्य संस्थाबाट नागरिकले कानुन अनुसार निःशुल्क स्वास्थ्य सेवा र औषधी पाइरेहका छन् । नगरपालिकाले सञ्चालन गर्दै आएको दाँत र आँखा उपचार शिविरबाट नगरबासी लाभान्वित हुँदै आएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख धनराज यादव बताउँछन् ।
नगरपालिकाले सञ्चालन गरेको शिविरसम्म आउन नसक्ने अशक्त र असहायका लागि गाउँटोलमै गाउँ–घर क्लिनिक सञ्चालन गरिएको छ । घरआँगनमै स्वास्थ्योपचार हुँदा वृद्धवृद्धालाई सुबिस्ता भएको वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामा बताउँछन् ।
क्लिनिक स्थापनादेखि निःशुल्क उपचार सेवा दिन नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै आएको छ । सोही बजेटअन्तर्गत अपांगता भएका व्यक्ति र विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा, ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर उपचार सेवा, ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा वितरण, सूर्याेदय ज्येष्ठ आमा घोषणा र सम्मान, सुरक्षित मातृत्व कार्यक्रम, सुरक्षित सुत्केरी कार्यक्रम, खोप सेवा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
नगरपालिकाले अघि सारेका यी कार्यक्रमबाट मुख्यतः दलित, विपन्न परिवार र वृद्धवृद्धा लाभान्वित भएका छन् । घरदैलोमै पोषणयुक्त खानेकुरा वितरण कार्यक्रमले ठूलो सहयोग पुगेको नगरपालिकाको महिला विकास अधिकृत तारा शेर्पाको दाबी छ ।
स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याएको नगरपालिकाले कोरोना महामारी नियन्त्रणमा पनि उत्कृष्ट काम गरेको छ । नगरपालिकाले कोभिड नियन्त्रण तथा रोकथाम गर्न स्थापना गरेको कोषमा जम्मा भएको १ करोड १० लाखमध्ये झन्डै ८० लाख रुपैयाँ यसमै खर्च भयो । भारतसँग सीमा जोडिएको पशुपतिनगर नाकामा हेल्थ डेस्क सीमापारिबाट नेपाल हुँदै अन्यत्र जाने नागरिकको एन्टिजेन परीक्षण गरिँदै आएको छ । संक्रमण पुष्टि हुनेलाई क्वारेन्टिनमा राख्ने व्यवस्था पनि नगरपालिकाले गरेको थियो । संक्रमितमध्ये गम्भीर बिरामी भएकालाई प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल र पशुपतिनगरमा १५ शय्याको कोभिड अस्पतालमा उपचार गर्ने व्यवस्था गरिएको कोभिड–१९ अस्थायी अस्पताल पशुपतिनगरका प्रमुख विमल श्रेष्ठले जानकारी दिए ।
महामारी नियन्त्रण गर्न निकै चुनाती भोगेको विगत अनुभव नगरप्रमुख अझै सम्झनुहुन्छ । शव व्यवस्थापनदेखि संक्रमितको घरमा औषधी बोक्दै हिँड्दाको संघर्षले भविष्यमा पुनः संक्रमणजन्य रोगसँग जुध्न नगरपालिकालाई सक्षम बनाएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई सुनाउँछन् ।
जनप्रतिनिधिले महामारी रोक्न गरेको मिहिनेतकै कारण इलामका १० स्थानीय तहमध्ये सूर्योदय नगरपालिका उत्कृष्ट सावित भयो । महामारी नियन्त्रणदेखि घरघरमा वृद्धवृद्धालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन नगरपालिकाले पाएको उपलब्धिकै कारण साढे चार वर्षमा नगरको स्वास्थ्य क्षेत्रमा लोभलाग्दो परिवर्तन भएको छ ।