close

खोप किन्न विश्व बैंकबाट थप १२४ करोड ऋण सम्झौता

खोप किन्न विश्व बैंकबाट थप १२४ करोड ऋण सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं–सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका अर्थसचिव मधुकुमार मरासिनी र बैंक नेपालसहित मालदिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरे ।


ऋण नेपालले कोभिड–१९ विरुद्धको खोप खरिदमा उपयोग गर्नेछ । ५ वर्षमाथिका सबैलाई खोप व्यवस्थाका लागि यो रकम खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । ‘कोभिड–१९ महामारीले सिर्जना गरेको निरन्तर बदलिँदो परिस्थितिमा समेत नेपालले प्रभावकारी रूपमा प्रतिकार्य जारी राखेको छ,’ हस्ताक्षर कार्यक्रममा अर्थसचिव मरासिनीले भने, ‘दोस्रो अतिरिक्त वित्तपोषणले सबै नेपाली विशेषगरी बालबालिकामा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा पुग्नेछ ।’ 


नेपालले १२ वर्षमाथिकालाई कोभिडविरुद्ध सुरुआती साथै बुस्टर मात्रा प्रदान गर्ने कार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेको मरासिनीले दाबी गरे । विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले बैंकले दिन लागेको थप ऋण सहायताबाट नेपालको ठूलो जनसंख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गरे । 

 

उनले कोरोना भाइरसको विभिन्न उत्परिवर्तित रूपले अर्थतन्त्र तथा सामान्य जीवनयापनमा समेत समस्या सिर्जना गरिरहेका बेला यस किसिमको वित्तीय सहायता महत्त्वपूर्ण हुने उल्लेख गरे । थप सहुलियतपूर्ण ऋण सहायता र कोभिड–१९ आपतकालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली पूर्वतयारी आयोजनाले कोभिड महामारीले निम्त्याएको खतराको पहिचान, रोकथाम तथा प्रतिकार्यका साथै नेपालको जनस्वास्थ्य पूर्वतयारीसम्बन्धी प्रणाली सुदृढीकरण गर्ने साझा उद्देश्य राखेको छ ।