बागलुङ–बृहत् जनस्वास्थ्य अभियानअन्तर्गत बडीगाड गाउँपालिका वडा नम्बर ७ टुनीबोटमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ५० जना बिरामीले स्वास्थ्य जाँच गराए । यीमध्ये १ सय जनाले आँखा जाँच गराएको बडीगाड पालिकाका जनस्वास्थ्य निरीक्षक चुडामणि कँडेलले जानकारी दिए छ ।
शिविरमा धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रका डा. जनक पाठक, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. रोहित शर्मा, नेत्र रोगका अप्टोमेट्रिस्ट रुद्र खत्री, धौलागिरि अस्पताल बागलुङका मेडिकल ल्याब टेक्नोलोजिस्ट नारायणप्रसाद कोइराला, भीमगिठे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलगायतले स्वास्थ्य जाँच गरेका थिए ।
शिविरमा १०० जनालाई चस्मा र बिरामीलाई आवश्यक औषधी वितरण गरिएको जनस्वास्थ्य निरीक्षक कँडेलले बताए । शिविरमा भिडियो एक्सरे, सुगर, पिसाब, प्रोटिन जाँचलगायत सेवा रहेको र औषधीसहित सबै सेवा निःशुल्क हुने गाउँपालिकाले जनाएको छ । शिविरमै ७० जना ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नसर्ने रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ भने ३५ जना हजार दिनका आमालाई पनि अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ ।
आइतबार भीमगिठे स्वास्थ्य चौकीमा बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न गण्डकी मेडिकल कलेज पोखराको विशेषज्ञ डाक्टर टोली बडीगाड आइपुगेको छ ।