काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको कोभिड–१९ विरुद्ध खोप छानबिन समितिले ५६ हजार ९०८ मात्रा खोप खेर गएको प्रतिवेदन सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडालाई समिति संयोजक डा. गुणराज लोहनीले बुझाएको प्रतिवेदनमा २१ माघसम्म ५६ हजार ९०८ मात्रा खोप खेर गएको उल्लेख छ ।
मन्त्री खतिवडालाई सोमबार समितिले बुझाएको प्रतिवेदन मंगलबार सार्वजनिक गरिएको थियो । समितिले तयार पारेको प्रतिवेदनमा ४ करोड ५७ लाख ८ हजार ६४० मात्रा खोप हालसम्म प्राप्त भएको उल्लेख छ ।
३ करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाइएको र १ करोड २३ लाख ३७ हजार ६६५ खोप मौज्दात रहेको उल्लेख छ । प्रतिवेदनमा सबै विवरणलाई विश्लेषण गर्दा ४ लाख ५५ हजार ३५५ मात्रा खोप बढी भएको देखिएको छ । कोरोनाविरुद्धको खोप छानबिन समितिको प्रतिवेदनअनुसार खोप अभियानलाई पूर्ण रूपमा व्यवस्थित गर्न नसकिएको बताइएको छ ।
प्रतिवेदनमा कोभिडविरुद्धको खोप निःशुल्क भएबापत केही व्यक्तिले पैसा लिएको गुनासो आएको उल्लेख छ । यसको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको बताइएको छ ।
खोप अभियान कार्यक्रममा लक्षित अभियानभन्दाबाहेकका व्यक्तिले पनि लगाएको प्रतिवेदनले औँल्याएको छ । ‘बुस्टर डोज लगाउनेसम्बन्धी आधिकारिक निर्णय नहुँदै पहिले खोप लगाइसकेका व्यक्तिले पहिलो खोप पनि बुस्टर लगाएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । विभिन्न स्थानमा गरिएको स्थलगत अवलोकन अन्तरक्रिया र सन्दर्भ सामग्री अध्ययन गर्दा १० मात्राको भायलमा ११ जना मानिसलाई समेत खोप लगाइएको देखिएको छ ।
प्रतिवेदनमा केही जिल्ला तथा स्थानीय तहमा हस्तान्तरण फाराम मौज्दात र खोप लगाएको विवरण अभिलेख नियमित र पूर्ण रूपमा अद्यावधिक हुन नसकेको, खोप दिने स्वास्थ्य संस्थाले खोप कभरेजको अभिलेख राख्न रजिस्टरको प्रयोग नगरेको उल्लेख छ ।
९ स्थानीय तहले बुझाएनन् विवरण
प्रतिवेदनमा ९ स्थानीय तहले खोप विवरण नबुझाएको उल्लेख छ । प्रतिवेदनमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका, काठमाडौंको तारकेश्वर र चन्द्रागिरि नगरपालिका, काभ्रेको खानीखोला, बेथानचोक र तेमाल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर, राक्सिराङ र कैलाश गाउँपालिकाले अझै खोपको विवरण बुझाएका छैनन् । स्वास्थ्य मन्त्रालयले १६ माघमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीको संयोजकत्वमा पाँच सदस्यीय खोप छानबिन समिति गठन गरेको थियो ।