चितवन–चितवनको भरतपुर महानगरले आफू मातहतका सबै विद्यालयमा स्यानिटरी प्याड वितरण सुरु गरेको छ । महानगरले ७४ विद्यालयका छात्राका लागि ४ लाख १० हजार ९० प्याकेट स्यानिटरी प्याड वितरण सुुरु गरेको हो ।
महानगरले पहिलो चरणमा १ लाख ८० हजार प्याकेट स्यानिटरी प्याड वितरण गरेको छ । लंकु स्रोत केन्द्रअन्तर्गतका ६ कक्षामाथि सञ्चालन भएका १८ विद्यालयलाई छात्रा संख्याका आधारमा प्रतिछात्रा १५ प्याकेटका दरले स्यानिटरी प्याड वितरण गरिएको छ । भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई प्याड हस्तान्तरण गरिन् ।
दोस्रो चरणमा आउने प्याड अन्य विद्यालयलाई हस्तान्तरण गरिने ठकुरीले जानकारी दिइन् । उनले यसको प्रयोगसँगै फोहोर व्यवस्थापनमा ख्याल गर्न विद्यार्थीलाई आग्रह गरिन् ।
महिनावारी भएका बेला विद्यालय जान छात्रालाई असहज हुने भएकाले विद्यालयमै स्यानिटरी प्याडको व्यवस्थापन गर्न सके छात्राको विद्यालयमा निरन्तरता गराउन सहज हुने ठकुरीको भनाइ छ ।
भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले विगतदेखि नै स्यानिटरी प्याड वितरण गर्ने योजना भए पनि खरिद प्रक्रियाले ढिलाइ भएको बताए । बोलपत्र आह्वान गरेर खरिद गर्दा समय लागेको उनले जानकारी दिए । घटिघटाउमा ९२ लाख ६३ हजार ३९९ रुपैयाँमा बोलपत्र सम्झौता भएर स्यानिटरी प्याड खरिद गरिएको हो ।