हेटौँडा– बागमती प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउने १८ वर्षभन्दा माथि उमेर समूहका ९० प्रतिशतभन्दा बढी पुगेका छन् । सरकारले कोरोनाविरुद्धको खोप अभियानसँगै सरकारीलगायतका सेवा लिँदा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरेपछि कोरोनाविरुद्धको खोप लगाउने बढेका हुन् ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार माघको पहिलो साता १२ देखि १७ वर्षसम्म उमेर समूहका २९.९ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएकोमा आइतबार साँझसम्ममा यो प्रतिशत बढेर ३७.६ प्रतिशत पुगेको छ । माघको पहिलो साता १२ देखि १७ वर्षसम्म उमेर समूहमा लक्षित समूहको कसैले पनि दोस्रो मात्रा नलगाएकोमा अहिले दोस्रो मात्रा १७.१३ प्रतिशत रहेको छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार १२ देखि १७ वर्षसम्म उमेर समूहका कोरोनाविरुद्धको खोप लगाउनुपर्ने लक्षित जनसङ्ख्या सात लाख ३६ हजार ४४२ जना छ । यस्तै १८ वर्ष उमेरमाथिका कोरोनाविरुद्धको खोप लगाउनुपर्ने लक्षित जनसङ्ख्या ४२ लाख ८३ हजार १४४ जना रहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।
१८ वर्ष उमेरमाथिका कोरोनाविरुद्धको खोप लगाउनुपर्ने लक्षित जनसङ्ख्याको ८३.५ प्रतिशतले माघको पहिलो सातासम्ममा पहिलो मात्रा र ७७.६ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका थिए । मन्त्रालयका अनुसार आइतबार साँझसम्ममा बागमती प्रदेशमा लक्षित जनसङ्ख्याको ९४.५ प्रतिशतले पहिलो मात्रा, ९०.२ प्रतिशतले दोस्रो मात्रा र ७.३२ प्रतिशतले तेस्रो मात्रा खोप लगाइसकेका छन् ।
हालसम्म १२ देखि १७ वर्षसम्म उमेर समूहका कोरोनाविरुद्धको खोप लगाउनुपर्ने लक्षित जनसङ्ख्यामा खोपको दोस्रो मात्रा सबैभन्दा बढी प्रतिशतले लगाएको जिल्लामा रामेछाप र त्यसपछि धादिङ र सिन्धुपाल्चोक छन् । यस्तै, १८ वर्ष उमेरभन्दा माथिको लक्षित जनसङ्ख्याभन्दा बढीलाई काठमाडौँ जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो खोपको मात्रा लगाइएको छ।
प्रवक्ता अधिकारीले खोप लगाउनेक्रम पछिल्लो समय वृद्धि भइरहेको भन्दै स्थानीय तहको आवश्यकताअनुसार खोप केन्द्रहरू स्थापना गरी खोप अभियान सञ्चालन हुँदै आएको जानकारी दिए । बागमती प्रदेशमा आइतबार साँझसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच लाख ६३ हजार ३९७ जना पुगेकोमा पाँच लाख १६ हजार ५२१ जना कोरोनामुक्त भएका छन् । कोरोनाका कारण प्रदेशमा पाँच हजार २५८ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।