close

कैलालीका पालिकाको सेवा प्रभावित

कैलालीका पालिकाको सेवा प्रभावित

Trulli
ADVERTISEMENT

कैलाली–कोरोना संक्रमण बढेसँगै कैलालीका पालिकाले नागरिकलाई दिने प्रशासनिक सेवा प्रभावित हुन थालेका छन् । पालिकाका कर्मचारीमा धमाधम कोरोना संक्रमण देखिन थालेपछि सेवा प्रभावित हुन थालेको हो । पालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि कैलालीका ४ पालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । जिल्ला समन्यव समिति कैलालीका अनुसार कैलालीको धनगढी उपमहानगर, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र जोशीपुर गाउँपालिकाले सेवा बन्द गरेका छन् ।

 

नगरपालिका, पालिका कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरेको जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमलप्रकाश जोशीले बताए । बन्द नभएका पालिकामा पनि धेरैजसो कर्मचारीमा कोरोना देखिएको उनको भनाइ छ । कर्मचारीमा कोरोना देखिएपछि कैलालीको एक मात्र उपमहानगर धनगढीले बुधबारदेखि १ साताका लागि सेवा बन्द गरेको छ ।

 

उपमहानगरले मंगलबार सूचना जारी गर्दै १२ देखि १८ माघसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जनाएको छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले स्वास्थ्य, सरसफाइ, दमकल र एम्बुलेन्स सेवा भने नियमित सुचारु रहने बताए ।

 

मंगलबार नै सूचना जारी गर्दै गौरीगंगा नगरपालिकाले पनि बुधबारदेखि अनिश्चित कालका लागि सेवा बन्द गरेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले कार्यालयका कर्मचारीमा कोरोना देखिएकाले अर्को सूचना जारी नभएसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको बताए । 


जोशीपुर गाउँपालिकाले पनि मंगलबार देखि नै १ साताका लागि सेवा बन्द गरिसकेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टेकबहादुर हमालले कार्यालयमा कार्यरत ५ कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको बताए । गाउँपालिकाले मंगलबारदेखि १८ माघसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । गोदावरी नगरपालिकाले ९ माघदेखि नै सेवा बन्द गरिसकेको छ । नगरपालिकाका १५ कर्मचारीका कोरोना देखिएपछि ९ देखि १५ माघसम्म सेवा बन्द गरिएको हो । 

 


जिल्लाका ४ पालिकाले सेवा बन्द गरे पनि सेवा सञ्चालन गरिरहेका अधिकांश पालिकाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । टीकापुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले नगरपालिकामा कार्यरत ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बताए । नगरपालिका मातहतका स्वास्थ्य शाखामा कार्यरत २ स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुुष्टि भएको उनले जानकारी दिए । 


लम्की चुहा नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले नगरपालिकाका १० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बताइन् । उनले नगरपालिकाको दमकल र जेसिबीमा काम गर्ने २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य ८ नगरपालिका मातहतकै स्वास्थ्य स्ांस्थामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिइन् । 


घोडाघोडी नगरपालिकाकाको स्वास्थ्य शाखा सह–संयोजक वेदप्रसाद चौधरीले नगरपालिकामा कार्यरत १ कर्मचारीमा मंगलबार कोरोना देखिएको बताए । नगरपालिका मातहतको वडा नम्बर १ मा रहेको आधारभूत स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीमा पनि सोमबार कोरोना देखिएको उनको भनाइ छ । नगरपालिकाले हाल स्वास्थ्य मापदण्ड पालना गरी सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए । 


भजनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशबहादुर डगौरा थारुले नगरपालिकाका २ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको बताए । उनले नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले १५ जनाको स्वाब संकलन गरेर सेती प्रादेशिक अस्पतालमा पठाएको जानकारी दिए । 

 

चुरे गाउँपालिकाका प्रशासकीय अधिकृत कालीप्रसाद भट्टले गाउँपालिकामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बताए । उनले अन्य धेरै कर्मचारीमा पनि रुघाखोकी, ज्वरो आउने समस्या देखिएको जानकारी दिए । कार्यालय भने बन्द नगरिएको उनको भनाइ छ । 

 

जानकी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बिर्खबहादुर विष्टले पालिकामा काम गर्ने १ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको बताए । उनले पालिकाभित्रका स्वास्थ्य संस्थामा काम गर्ने ७ जना कर्मचारी संक्रमित भए पनि गाउँपालिका कार्यालयभित्र काम गर्ने १ जनामा संक्रमण भएको जानकारी दिए । ‘गाउँपालिकामा कार्यरत कर्मचारीको कोरोना परीक्षण गरिएको छैन,’ उनले भने, ‘अहिले गाउँपालिकाको सबै सेवा सुचारु छ ।’

 

कैलारी गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण नदेखिए पनि १५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब वीरेन्द्रप्रसाद सापकोटाले गाउँपालिकामा रहेको उदासिपुर स्वास्थ्य चौकीका ७ स्वास्थ्यकर्मीसहित १५ जनामा संक्रमण पुष्टि भएको बताए ।

 

पालिकाले गराएको एन्टिजेन परीक्षणमा अन्य ३६ जनामा पनि संक्रमण भएको देखिएको छ । बर्दगोरीया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीले ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार संक्रमित हुनेमा १ जना गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारी र २ स्वास्थ्यकर्मी रहेका छन् । 

 

मोहन्यान गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्रबहादुर बुढाले हालसम्म पालिकाका स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण नदेखिएको बताए । कोरोनाका कारण पालिकाको सेवा प्रभावित हुँदा जनताका दैनिक काम र विकास निर्माणका काम यो वर्ष पनि प्रभावित भएका छन् ।