बुटवल– नेपाल–भारत सीमानाका बेलहियाबाट सङ्क्रमित भएका पनि निर्वाध आवतजावत गर्न थालेका छन् । कोरोनाको सङ्क्रमण रोकथाम गर्न सीमानाकामा सामान्य अस्थायी हेल्थडेस्क र होल्डिङ सेन्टर बनाइए पनि प्रभावकारी नभएका कारण त्यस्तो समस्या देखिएको स्थानीयवासीले बताएका छन् । नाकामा सामान्य ज्वरो मापन मात्रै गरिएको छ । भारतीय बजारमा किनमेल गर्न जाने नेपाली उपभोक्ताका कारण बढेको भीडले पनि सङ्क्रमण बढाएको अनुमान गरिएको छ ।
रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक कैयौँ नेपाली भारतीय बजारमा सामान खरिद गर्न जान्छन् । उनीहरुको न कोरोना परीक्षण भएको छ, न उनीहरु स्वयंले स्वास्थ्य मापदण्ड पालना गर्ने गरेका छन् । कोरोना सङ्क्रमण रोकथामका लागि स्थानीय प्रशासनले जारी गरेको आदेश पनि कार्यान्वयन भएको पाइदैन । भारतीय पर्यटक र भारतमा काम गरेर गरेर फर्किने नेपालीबाहेक सामान खरिद गर्न जानेको कोरोना परीक्षण नगरिएकाले सङ्क्रमण फैलाउने जोखिम झनै बढाएको बेलहिया हेल्थ डेस्कका स्वास्थ्य संयोजक लालमोहन चौधरी बताउँछन् ।
पछिल्लो समय बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय र नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । नाकामा स्वास्थ्य मन्त्रालय, सिद्धार्थनगर नगरपालिका र विभिन्न सङ्घसंस्थाले हेल्थडेस्क राखेका छन् । सुरक्षाकर्मी पनि तैनाथ छन् । ‘यसरी आवतजावत गर्नेलाई परीक्षण त टाढाको कुरा हो सोधखोज र रोकतोकसमेत गरिएको छैन’, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजु भन्छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सीमानाकामा स्वास्थ्य सर्तकता र स्वास्थ्य जाँचलाई कडाइ गरिएको भने पनि त्यहाँको जनशक्तिले त्यो भीड थेग्नसक्ने अवस्था देखिँदैन । बेलहिया नाका हुँदै दैनिक ५०० को हाराहारीमा मालबाहक सवारी साधन भित्रिन्छन् तर चालक, सहचालकको पनि कोरोना परीक्षण गरिएको पाइदैन । नाकामा सङ्क्रमण देखिएका पनि होम आइसोलेसनमा बस्ने सर्तमा सिधै घर जाने गरेका बताइन्छ ।
भारतमा बढ्दो कोरोना सङ्क्रमणका कारण रोजगारीमा गएका नेपाली फर्कने क्रम बढ्दो छ । बेलहिया नाकाबाट करिब तीन हजार, रुपैडिया नाकाबाट करिब चार हजार, कृष्णनगर, महेशपुरबाट करिब दुई हजार नेपाली केही समययता दिनहुँ आइरहेका छन् । योबाहेक अन्य जिल्लाका साना नाकाबाट पनि उत्तिकै सङ्ख्यामा नागरिक आइरहेका छन् ।
कोरोना सङ्क्रमण बढे पनि अहिले खोप कार्डका आधारमा गाडीका गाडी भारतीय पर्यटक तीर्थस्थल र पर्यटकीयस्थल घुम्न आएका देखिन्छ । बेलहिया नाकाबाट मात्र दैनिक सरदरमा ७०० (मालबाहक तथा यात्रुबाहक) गाडी नेपाल आइरहेको बेलहियास्थित इलाका प्रहरी कार्यालय र भैरहवा भन्सार कार्यालयले जनाएको छ तर सीमामा न त स्वास्थ्य परीक्षणका लागि पर्याप्त जनशक्ति नै छ, न होल्डिङ सेन्टर नै । सीमित स्वास्थ्यकर्मीबाट काम चलाइएको नाकामा स्वास्थ्यकर्मी आफैँ सङ्क्रमित भएका छन् । बेलहिया नाकाका ल्याब टेक्निसियन लोकनाथ कँडेल स्वास्थ्य जाँच गर्ने आठ स्वास्थ्यकर्मी सङ्क्रमित भएको बताउँछन् । जनस्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकाल सतर्कता अपनाउँदै काम गर्दा पनि स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको उल्लेख गर्छन् ।
नाकामा दैनिक ५०० भन्दाबढीको एन्टिजेन परीक्षण हुने गरे पनि प्रवेश गर्ने सबैको परीक्षण हुँदैन । यसअघि पनि भारतबाट आउने व्यक्तिबाटै कोरोना सङ्क्रमण फैलिएको भन्दै उद्योगी तथा व्यवसायीले सीमानाकामा परीक्षणलाई प्रभावकारी बनाउन माग गरेको बुटवल उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष कसजु स्मरण गराउँछन् । कोरोना जाँच सहजरुपमा गरेर ढुक्कसँग नेपाल आउने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए । त्यसो त प्रदेश सरकारले यसअघि बनाउने भनिएको होल्डिङ सेन्टर अहिलेसम्म बनेका छैनन् । रुपन्देही, कपिलवस्तु र बाँकेमा बनाउने भनिएको होल्डिङ सेन्टरका लागि रुपन्देहीमा जग्गाको व्यवस्था नै भएन, बाँकेमा पनि निकै ढिलो काम भएको छ भने कपिलवस्तुको कृष्णनगरमा काम अन्तिम चरणमा पुगेको छ । प्रदेश स्वास्थ्य कार्यालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार बजेट अभावभन्दा पनि काम नै समयमा सुरु नभएर ढिलाइ भएको हो ।
होल्डिङ सेन्टर बनाउन रकम माग
प्रदेश सरकारले भारतसँग सीमा जोडिएका तीन नाकामा होल्डिङ सेन्टर बनाउन सङ्घीय सरकारसँग रकम माग गरेको छ । भारतसँग सीमा जोडिएका प्रदेशका छ जिल्लामध्ये तीन मुख्यनाका रहेका रुपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज र कपिलवस्तुको कृष्णनगरमा होल्डिङ सेन्टर बनाउन योजनासहित रु १० करोड बजेट माग गरिएको हो । मुख्यमन्त्री कूलप्रसाद केसीले प्रधानमन्त्री शेरबहादुर देउवासँग रकम उपलब्ध गराउनका लागि आग्रह गरेका छन् ।
लामो समयपछि भारतबाट आएकालाई नाकामा गरिएको एन्टिजेन परीक्षणका भरमा प्रवेश गर्न दिँदा कोरोना सङ्क्रमण बढेको हुनसक्ने भन्दै प्रदेशका अस्पतालले तयारी थालेको स्वास्थ्य निर्देशक डा विनोदकुमार गिरी बताउँछन् । ‘सङ्क्रमित बढ्ने र अस्पताल भरिन सक्ने आँकलनसहित उपचारका लागि अस्पताललाई तयारी अवस्थामा राखेका हौँ’, उनी भन्छन् ।