चितवन–चितवनका २ ठूला सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले साउनयता जोखिम भत्ता पाएका छैनन् । भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडको बिरामीको उपचार हुँदै आएको छ । क्यान्सर अस्पतालमा यो समय न्यून बिरामी भए पनि भरतपुर अस्पतालमा भने नियमित बिरामी छन् । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार साउनयता जोखिम भत्ता उपलब्ध हुन सकेको छैन ।
सरकारले ६ वैशाखबाट ६ महिनाका लागि तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । सोहीअनुरुप पहिलो ३ महिनाको जोखिम भत्ता आए पनि पछिल्लो समयको भत्ता नआएको उनले जानकारी दिए ।
भरतपुर अस्पतालले हालसम्म ११ करोड ५० लाख रुपैयाँ संघीय सरकारबाट प्राप्त जोखिम भत्ता वितरण गरिसकेको छ । सुरुआती चरणमा अस्पताल विकास समितिले ६० लाख रुपैयाँ जोखिम भत्ता वितरण गरेको थियो ।
अस्पताल विकास समिति अध्यक्ष डा. भोजराज अधिकारीले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई असारसम्मको जोखिम भत्ता वितरण गरिए पनि त्यसयता निकासा हुन नसकेको बताए । भरतपुर अस्पतालले नर्सिङ कार्यक्रममा कार्यरत कर्मचारीबाहेक सबैलाई जोखिम भत्ता तलबको ५० प्रतिशत दिएको थियो । उनले भने, ‘जोखिममा काम गर्नेलाई सुविधा दिनुपर्छ । निकासाका लागि अनुरोध गरेका छौँ ।’ समितिले रकम थप गर्नुपरे तयार रहेको भन्दै उनले जोखिममा काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
भरतपुर अस्पतालमा रहेका कर्मचारीलाई मासिक २ करोड २५ लाख बराबर तलब खर्च हुने गर्दछ । त्यसको आधा जोखिम भत्ता दिने गरिएको छ ।
क्यान्सर अस्पतालमा कोभिड वार्डमा कार्यरत चिकित्सक कर्मचारीले पनि साउनयता भत्ता पाएका छैनन् । अस्पतालमा साउनयता कोभिड वार्ड रहे पनि बिरामी छैनन् । कहिलेकाहीँ बिरामी आउने भएकाले कर्मचारी खटिएको अस्पतालले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले गत वर्ष काम गर्नेलाई जोखिम भत्ता दिइएको बताए । झन्डै ३० लाख रुपैयाँ हाराहारी जोखिम भत्ता अस्पतालले वितरण गरेको जनाएको छ । सरकारले भत्ता पठाए वितरण गरिने गौतमको भनाइ छ ।
अब फेरि संक्रमण बढेकाले पहिले काम गर्नेलाई भत्ता बाँढ्न पाए काम लगाउन सहज हुने उनले बताए । निजी मेडिकल कलेज पनि कोभिडमा काम गर्नेलाई प्रोत्साहनस्वरुप जोखिम भत्ता वितरण गर्दै आएका छन् ।
चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार कोभिड वार्डमा काम गर्ने चिकित्सक कर्मचारीलाई दैनिक १ हजार रुपैयाँ भत्ता दिँइदै आएको छ । संक्रमण स्थलमा काम गर्ने सबैलाई भत्ता दिइएको उनले जानकारी दिए ।
सरकार र निजीमा संक्रमणमा काम गर्ने चिकित्सक कर्मचारीलाई जोखिम भत्ता दिन नसक्दा काममा लगाउन अप्ठेरो हुने बताइएको छ । अस्पतालसँगै स्वास्थ्य केन्द्रमा पनि संक्रमणमा काम गर्न चिकित्सक स्वास्थ्यकर्मी बाध्य छन् । पालिकाले पनि संक्रमणमा काम गर्नेलाई भत्ता दिने गरेका छन् ।