काठमाडौं– स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार ३३ स्थानीय तहले लक्षित जनसङ्ख्याको शतप्रतिशतलाई पूर्ण मात्राको खोप लगाएका छन् । ओखलढुङ्गाका सिद्धिचरण नगरपालिका र खिजीडेम्बा गाउँपालिका, झापाको कन्काई नगरपालिका र विर्तामोड नगरपालिका, दोलखाको गौरीशङ्कर गाउँपालिका र जिरी नगरपालिका, रसुवा गोसाइँकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिकाले शतप्रतिशतलाई खोप लगाइसकेका छन् ।
यस्तै काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका, भक्तपुरका भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका, ललितपुरको महालक्ष्मी नगरपालिका, काभ्रेको धुलिखेल नगरपालिकाले लक्षित जनसङ्ख्याको शतप्रतिशत खोप लगाएका छन् ।
यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका, गोर्खाको गोरखा नगरपालिका र धार्चे गाउँपालिका तथा गण्डकी गाउँपालिका, मनाङको नामे र नासोङ गाउँपालिका, मुस्ताङका पाँचैवटा स्थानीय तहले पनि शतप्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
कास्की जिल्लाको पोखरा उपमहानगरपालिका, मादी र रुपा गाउँपालिका, तनहुँको व्यास नगरपालिका, स्याङ्जाको पुतलीबजार र भिरकोट नगरपालिका, बागलुङको ताराखोला गाउँपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि लक्षित जनसङ्ख्यालाई पूर्ण मात्रा खोप दिइसकेको छ ।
यस्तै पहिलो मात्रा शतप्रतिशत लक्षित समूहलाई खोप लगाइसकेको बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकाले मात्र पूर्ण मात्राको खोप पनि शतप्रशितल लक्षित समूहलाई लगाइसकेको छ । बैतडीको पाटन नगरपालिकाले ९९.३ प्रतिशत लक्षित जनसङ्ख्यालाई पूर्ण मात्रा खोप दिइसकेको छ ।