उदयपुर– त्रियुगा नगरपालिकाको वडा नम्बर १४ सुनकोसी किनारा धाप्लाङ बाँजगरामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको छ । सदरमुकाम गाईघाटको विकट र पछि परेको धाप्लाङस्थित बाँजगरामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको हो । स्थानीय समुदायसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले त्रियुगा नगरपालिकाले बाँजगरामा सेवा केन्द्र स्थापना गरेको हो ।
त्रियुगाको वडा नम्बर १४ पहाडी भेगमा पर्ने वडा हो । यसअघि वडाको पनि दुर्गम सुनकोसी किनारामा पर्ने बाँजगराबासीलाई सामान्य रुघाखोकी र ज्वरोको औषधोपचारका लागि घन्टौँ हिँडेर जानुपर्ने बाध्यता थियो । बाँजगराबासीलाई स्वास्थ्य सेवा लिनुपरे वडा कार्यालय रहेको साउने बजार आउनुपर्ने वा सुनकोसी तरेर खोटाङको सुन्तले पुग्नुपर्ने बाध्यता थियो ।
स्थानीय सहज स्वास्थ्य सेवा दिलाउन बाँजगरामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले बताए । उनका अनुसार हरेक वडामा स्वास्थ्य चौकी भए पनि वडाका कुनाकन्दराका गाउँबस्तीसम्म स्वास्थ्योपचार सहज बनाउन नगरपालिकाले सेवा केन्द्र स्थापना गर्दै आएको छ ।
नगरपालिकाले आन्तरिक स्रोतबाट सञ्चालन गर्ने गरी सेवा केन्द्र स्थापना गरेर स्वास्थ्यकर्मीको व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । आधारभूत स्वास्थ्य सेवा केन्द्रको नगर प्रमुख बलदेव चौधरी र उपप्रमुख देवीकुमारी चौधरीले संयुक्त रूपमा उद्घाटन गरे । कार्यक्रममा नगरप्रमुख चौधरीले त्रियुगा नगरपालिकाका १६ वटै वडाबासीलाई स्वास्थ्य सेवाको पहुँच सहज बनाइँदै लगेको बताए ।
नगरप्रमुख चौधरीले जिल्लाको जेठो र सदरमुकामको नगरपालिका भए पनि कतिपय वडा विकट र दुर्गम रहेकाले सबै वडालाई समान हैसियतको बनाउने गरी काम हुँदै आएको जानकारी दिए । नगर सामाजिक विकास समिति संयोजक मानबहादुर राईले नगरका सबै वडामा स्वास्थ्य चौकी र नभएका ठाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र खोलेर सेवा दिइँदै आएको बताए । उनका अनुसार अहिलेसम्म नगरपालिकाभित्र स्वास्थ्य चौकीबाहेक १५ वटा आधारभूत सेवा केन्द्र स्थापना भइसकेको छ ।
स्वास्थ्य चौकी जान टाढा भएका बस्तीबासीलाई सुविधा दिन आधारभूत स्वास्थ्य सेवा केन्द्र खोलेर जनशक्ति व्यवस्थापन गर्दै सेवा सुरु गरिएको राईको भनाइ छ । त्रियुगा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष कुरुङ राईले बाँजगराबासी धेरै पहिलेदेखि स्वास्थ्य सेवाबाट वञ्चित भएकाले वडाले नगरपालिकासँगको सहयोग लिएर गाउँमै सेवा केन्द्र स्थापना गरेको जानकारी दिए ।
पुरानो खोप केन्द्र रहेको भवनलाई मर्मत गरेर स्थापना गरिएको सेवा केन्द्रले बाँजगरा, धाप्लाङ, घिर्लिङ, सिम्ले, रातमाटे र खोटाङको वरहापोखरी गाउँपालिकाको सुन्तलेसम्मका नागरिकलाई सेवा दिनेछ । सेवा केन्द्र स्थापनापछि झन्डै १० हजार जनसंख्या लाभान्वित हुने वडाध्यक्ष राईले बताए ।