close

माघ पहिलो साताबाट लगाइँदै कोरोनाविरुद्धको तेस्रो खोप

माघ पहिलो साताबाट लगाइँदै कोरोनाविरुद्धको तेस्रो खोप

Trulli
ADVERTISEMENT

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको तेस्रो मात्राको खोप दिइने बताएको छ ।

 

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघ पहिलो साताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो साताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप लगाइने जानकारी दिए ।

 

सम्भावित कोरोनाको तेस्रो लहरलाई दृष्टिगत गर्दै थप एक मात्रा खोप दिइने थालेको बताए । नेपालमा अहिले कुल परीक्षण गराएकामध्ये कोभिड–१९ संक्रमण ८.४९ प्रतिशतमा देखिएको छ । शुक्रबार मात्रै १४ हजार ९७१ जनामा परीक्षण गर्दा ९६८ जनामा संक्रमण देखिएको थियो ।

 

कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिन थालेको हो । शुक्रबार मात्र २४ जनालाई कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएको थियो ।

 

यसअघि गम्भीर प्रकृतिका रोग भएका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई अतिरिक्त मात्रा खोप २० पुसमा लगाएर स्थगित गरिएको थियो ।

 

मन्त्रालयले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप लगाएपछि मात्र अतिरिक्त खोप दिने निर्णय गरेपछि एक दिन लगाएर स्थगित गरेको थियो । मन्त्रालयले राष्ट्रिय खोप अभियान दु्रत गतिमा सञ्चालन गरेर यही पुस मसान्तभित्र लक्षित सबैलाई खोप लगाउने तयारी गरेको छ ।

 

मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको तीन महिना पुगेका अग्रपंक्तिमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारी, सरकारी निकायमा काम गर्ने कर्मचारीलाई खोपको अतिरिक्त एक मात्रा खोप लगाइनेछ ।

 

यस्तै, कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका साथै मध्यम तथा गम्भीर रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधी सेवन गरिरहेका बिरामीलाई पनि अतिरिक्त मात्रा खोप दिइनेछ ।

 

अहिले सरकारसँग १ करोड २ लाख मात्रा खोप मौज्दात छ । स्वास्थ्य सचिव डा. पोखरेलले सम्भावित तेस्रो लहर रोक्न सीमा नाकामा एन्टीजेन परीक्षण बढाइएको बताए ।