काठमाडौं– नेपालमा शुक्रबार थप २४ जनामा ओमिक्रोन पुष्टि भएसँगै सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुन सक्ने भन्दै सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी अत्यधिक बिरामीको चापलाई थेग्न सक्ने गरी तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै सही तरिकाले हात धुन, मास्क प्रयोग गर्न, बारम्बार हात धुन तथा २ मिटरको दूरी कायम गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
यसअघि नेपालमा ३ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । १ हजार १४६ पोजिटिभ नमुनाको एसजिन स्क्रिनिङ गर्दा २५० नमुनामा २२ प्रतिशत एसजिन नेगेटिभ पत्ता लागेका हो ।
एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले एस जिन स्क्रिनिङ गर्ने सुविधा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल), वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ र भेरी अस्पतालमा रहेको जानकारी दिएको छ ।