उदयपुर–जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकालाई मोडर्ना खोप लगाउन थालेको छ । बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप प्रत्येक विद्यालयमै पुगेर लगाउन थालिएको हो । १२ देखि १७ वर्ष उमेर समूहका बालिबालिकालाई लक्षित गरी खोप लगाउन सुरु भएको स्वास्थ्य कार्यालयले बताएको छ ।
मोडर्ना खोप त्रियुगा नगरपालिकासहित सबै स्थानीय तहका संस्थागत तथा सामुदायिक विद्यालयमा लगाउन सुरु भएको स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताए । उनका अनुसार जिल्लामा मोडर्ना खोप ४३ हजार ६ सय थान आएको छ । उदयपुरका ४ नगरपालिका त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका तथा ४ गाउँपालिका लिम्चुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढी गरी ८ वटै स्थानीय तहमा खोप लगाउन जनसंख्याका आधारमा वितरण गरिएको निरौलाले जानकारी दिए ।
सदरमुकाम गाईघाटस्थित त्रियुगालाई सबभन्दा बढी १६ हजार ३ सय खोप दिइएको छ भने कटारीलाई ७ हजार ५ सय र चौदण्डीगढी तथा बेलका नगरपालिकालाई समान ५ हजार २ सयका दरले पठाइएको छ । त्यसैगरी उदयपुरगढी गाउँपालिकालाई ३ हजार ५ सय, रौतामाईलाई ३ हजार, लिम्चुङबुङ र ताप्ली गाउँपालिकालाई क्रमशः १ हजार ५ सय र १ हजार ३ सय थान खोप पठाइएको छ । स्वास्थ्य मन्त्रालयले पठाएको खोप स्थानीय तहले आफू मातहतका सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकालाई लगाउन थालेका छन् ।
स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख वृजकुमार दासका अनुसार उदयपुरका सबै स्थानीय तहमा एकै दिन खोप लगाउन थालिएको हो । स्थानीय तहले हरेक वडा स्वास्थ्य चौकी र विद्यालयमै स्वास्थ्य टोली पठाएर खोप दिन थालेको दासले बताए । विद्यालयबाहेक जिल्लाका ४६ वटै स्वास्थ्य चौकीमार्फत खोप दिइँदै छ । उदयपुरमा भने खोप आउनै ढिला भएकाले झन्डै सातापछि खोप अभियान सुरु भएको हो ।