close

काभ्रे प्रशासनले थाल्यो आलोपालो सेवा

काभ्रे प्रशासनले थाल्यो आलोपालो सेवा

Trulli
ADVERTISEMENT

काभ्रे– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेपछि आउँदो बिहीबारदेखि सेवाको तालिका हेरफेर गरेको छ । कार्यालयले सूचनामार्फत सार्वजनिक अपिल गर्दै कोभिड–१९ को नयाँ भेरियन्टको जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य मापदण्ड अपनाई सेवा लिन आग्रह गरेको छ ।

 

दैनिक नागरिकतालगायतका सेवा लिन आउनेको संख्या बढिरहेकाले भीड कम गर्न समयतालिका हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनका अनुसार अर्को व्यवस्था नभएसम्म धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगर तथा चौँरीदेउराली गाउँपालिका र तेमाल गाउँपालिकाका सेवाग्राहीका लागि आइतबार र बुधबार सेवा दिइनेछ ।


यस्तै, पनौती नगर, पाँचखाल नगर तथा भुम्लु गाउँपालिका र रोशी गाउँपालिकाका लागि सोमबार र बिहीबार सेवा प्रदान हुने जारी सूचनामा जनाइएको छ ।  बनेपा नगर, नमोबुद्ध नगर तथा बेथानचोक गाउँपालिकाका लागि मंगलबार र शुक्रबार तोकिएको छ । महाभारत र खानीखोला गाउँपालिकाका लागि दैनिक रूपमै सेवा प्रदान हुने प्रजिअ पोखरेलले जानकारी दिए ।

 

कार्यालयले गत असोजयता जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप्दै आएको थियो । जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) ले समुदायमा संक्रमण दर घटेको तथा मृत्युदर शून्यमा झरेका कारण काभ्रे ‘एल्लो–जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको थियो । 

 

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि गत २० वैशाखदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । यसैबीच काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको जोखिम न्यून रहेको पाइएको छ । केन्द्रका अनुसार हाल जिल्लामा ३२ कोरोना सक्रिय संक्रमित छन् ।  केन्द्रले केही दिनदेखि नयाँ संक्रमित नदेखिएको जनाएको छ । जिल्लाका सात स्थानीय तह मण्डनदेउपुर नगर तथा ६ गाउँपालिका चौँरीदेउराली, रोशी, तेमाल, बेथानचोक, महाभारत र खानीखोला कोरोना संक्रमणमुक्त छन् ।


जिल्लामा हाल सक्रिय संक्रमितमध्ये बनेपा नगरमा ९, पाँचखालमा ३, धुलिखेलमा ८, पनौतीमा ७, नमोबुद्ध नगरमा २ र भुम्लु गाउँपालिकामा ३ जना रहेको केन्द्रले बताएको छ ।  जिल्लामा हालसम्म १४ हजार ८४० मा संक्रमण देखिएकामा १९३ जनाको मृत्यु भएको छ । हालसम्मका कुल संक्रमितमध्ये ९८ दशमलव ४८ प्रतिशत अर्थात् १४ हजार ६१५ संक्रमणमुक्त भएका छन् ।