close

नमोबुद्धमा स्वास्थ्य अनुसन्धान केन्द्र निर्माण हुने

नमोबुद्धमा स्वास्थ्य अनुसन्धान केन्द्र निर्माण हुने

Trulli
ADVERTISEMENT

काभ्रे–काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ मा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । सोमबार नमोबुद्ध नगरपालिका र धुलिखेल अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब अनुसन्धान केन्द्र निर्माणको काम सुरु हुनेछ । 


उक्त केन्द्रले नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानको नेतृत्व लिनेछ भने नेपालसहित विश्वभरका विशेषज्ञ यसमा संलग्न हुनेछन् । स्वास्थ्य अनुसन्धानमा आधारित स्नातकोत्तर तथा पिएचडी कार्यक्रमका लागि यो अगुवा केन्द्रको रूपमा विकास हुनेछ ।


नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले समझदारीपत्रमा हस्ताक्षर गरे ।समझदारीपत्रमा नमोबुद्ध वडा नम्बर ११ मा रहेको कित्ता नम्बर ६२२ र ७३२ को जग्गामा धुलिखेल अस्पतालको अनुसन्धान केन्द्र स्थापना गरिने उल्लेख छ । 


उक्त जग्गाको भोगाधिकार प्राप्ति गर्न कानुनबमोजिम पूरा गर्नुपर्ने प्रक्रियाका लागि धुलिखेल अस्पतालले पहल गर्नेछ भने यसको सहजीकरण नमोबुद्धले गर्ने सहमति भएको छ ।


उक्त जग्गाको स्वामित्व सरकारको नाममा रहने र धुलिखेल अस्पतालले अनुसन्धान केन्द्र स्थापना गरी स्वास्थ्य, शिक्षा र अनुसन्धानसम्बन्धी सार्वजनिक कार्यका लागि मात्र उपयोग गर्न पाउने उल्लेख छ ।

 

यस्तै, उक्त जग्गामा धुलिखेल अस्पतालले स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना गरी स्वास्थ्य, शिक्षा र अनुसन्धानसम्बन्धी सार्वजनिक कार्यका लागि आवश्यक पर्ने भवन तथा पूर्वाधार निर्माणमा नमोबुद्धको कुनै पनि आर्थिक दायित्व रहने छैन । तर, उक्त पूर्वाधार संरक्षणको जिम्मेवारी वहन गर्नेछ ।


उक्त जग्गामा धुलिखेल अस्पतालले स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना गरी सार्वजनिक कार्यका लागि आवश्यक पर्ने भवन तथा पूर्वाधार निर्माण गर्न आवश्यक सम्पूर्ण स्रोत–साधन व्यवस्था गर्ने र सिर्जना हुने रोजगारीमा नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का स्थानीयलाई प्राथमिकतामा राखिने समझदारी भएको छ । 


धुलिखेल अस्पतालले अनुसन्धान केन्द्र स्थापना गरी स्वास्थ्य, शिक्षा र अनुसन्धान सम्बन्धी सार्वजनिक कार्य सुचारु गरेपछि सम्बन्धित वडा कार्यालयसँग समन्वय र सहकार्य गरी शैक्षिक, स्वास्थ्य र अनुसन्धानलगायत क्रियकलापमा प्राथमिकतामा राख्ने विषयमा समझदारी भएको छ ।


यसअघि नमोबुद्ध वडा नम्बर ११ को बैठक, नगर कार्यपालिकाको बैठकका साथै दसौँ नगरसभा बैठकले समेत स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराउने निर्णय गरिसकेका छन् । 


समझदारीपत्रमा हस्ताक्षर गर्दै नगरप्रमुख तिमल्सिनाले जिल्लाका अन्य क्षेत्रबाट पनि आएको प्रस्तावबीच धुलिखेल अस्पतालले अनुसन्धान केन्द्र स्थापनाका लागि नमोबुद्धलाई चयन धन्यवाद दिए ।

 

उनले नमोबुद्धको स्वास्थ्य क्षेत्रको विकासका लागि धुलिखेल अस्पतालले लिएको अग्रसरताले नगरबासी लाभान्वित हुने बताउँदै अनुसन्धान केन्द्र स्थापनापछि मुलुकको स्वास्थ्य क्षेत्रमा थप प्रगति हासिल हुने धारणा व्यक्त गरे । आफूहरूको कार्यकालमा नगरपालिकाभित्र अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र स्थापना हुनु गर्वको विषय भएको उनको भनाइ छ । 

 

धुलिखेल अस्पतालका कार्यकारी निर्देशक रामकण्ठ माकजुले अनुसन्धान केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराएकामा नगरपालिकालाई धन्यवाद दिए । २५ वर्षअघि शिशु अवस्थामा सुरु गरिएको धुलिखेल अस्पताल अहिले स्वास्थ्य सेवामा मुलुककै अब्बल संस्था बनेको बताउँदै उनले अनुसन्धान केन्द्रलाई पनि सोहीअनुसार निर्माण र विकसित गर्दै लैजाने जानकारी दिए ।

 

कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्ससेजका डीन डा. राजेन्द्र कोजु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजु, नमोबुद्ध वडा नम्बर ४ का वडाध्यक्ष उद्धवप्रसाद काफ्ले, वडा नम्बर ६ का वडाध्यक्ष कुलप्रसाद न्यौपाने, वडा नम्बर ११ का वडाध्यक्ष कृष्णबहादुर तामाङलगायतको उपस्थिति थियो ।