close

सिरिन्ज सकिएपछि आजदेखि सुरु हुने भनिएको फाइजर खोप अभियान स्थगित

सिरिन्ज सकिएपछि आजदेखि सुरु हुने भनिएको फाइजर खोप अभियान स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले पुस १३ गतेदेखि सुरु गर्ने भनेको फाइजर खोप अभियान केही दिनको लागि स्थगित गरेको छ । फाइजर खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिँन सिरिन्ज केही ढिला गरेर आउने भएकोले तत्कालका लागि खोप अभियान स्थगित गरेको स्वास्थ्य सेवा विभाग खोप शाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिए ।

 

घोलक आउनेबित्तिकै खोप अभियान सुरु गर्ने भण्डारीले जानकारी दिए । उनले भने, ‘खोपलाई आवश्यक पर्ने घोलक आएपछि खोप अभियान सुरु गर्छौं, अहिले कहिलेदेखि खोप अभियान सुरु गर्ने भनेर मिति तोकिएको छैन । सायद, आठ–दश दिनमा अभियान सुरु हुन्छ ।’

 

फाइजर खोप अभियानको लागि फाइजर कम्पनिले बनाएको ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्छ । खोप अभियानको लागि ६ लाख ६४ हजार ६५० मात्रा फाइजर खोप आइसकेको छ ।

पुस २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै पुस १३ देखि २२ गते आठ जिल्लामा फाइजर खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको थियो ।

 

स्वास्थ्य मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा फाइजर खोप अभियान सुरु गर्ने जनाएको थियो । फाइजरको पहिलो डोज पुस १३ देखि २२ सम्म र दोस्रो डोज माघ ४ देखि १३ गतेसम्म दिइने मिति तय भएको थियो ।

 

हालसम्म खरिद र अनुदान सहयोगअन्तर्गत ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप प्राप्त भएको छ । खोप अभियान सुरु भएको ३३५ औं दिन अर्थात् सोमबारसम्म २ करोड ३७ लाख ४० हजार २ सय ९६ डोज खोप लगाइएको छ । यस हिसाबले भण्डारणमा १ करोड ५४ लाख ६३ हजार ६ सय ३१ डोज खोप अझै बाँकी छन् ।

 

करिब १ करोड ७५ लाख डोज थप खोप २०२२ को मार्चभित्र आइसक्नेछ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार अक्सफोर्डरअस्ट्राजेनेका–कोभिसिल्ड, सिनोफार्म, भेरोसेल, जान्सेन, फाइजर, मोडर्ना गरी ६ प्रकारका खोप विभिन्न प्रक्रियाबाट भित्रिएका छन् ।

 

नेपालमा २ करोड ५० लाख ५४ हजार १ सय ७ डोज खोप विश्व स्वास्थ्य संगठनअन्तर्गत ‘कोभाक्स’ कार्यक्रमबाट भित्रिएको छ । कुल खोपमध्ये ६३।९० प्रतिशत कोभाक्सअन्तर्गतको हो । कोभाक्सअन्तर्गतकै एक डोज लगाए पुग्ने जोन्सन एन्ड जोन्सन कम्पनीको जान्सेन खोप ३७ लाख ११ हजार ५ सय डोज खोप अमेरिका र जर्मनीले अनुदानमा दिएका हुन् । भारतले ११ लाख र चीनले ३८ लाख डोज सहयोगस्वरूप प्रदान गरिसकेका छन् ।

 

सबैभन्दा बढी खोप चीनबाट भित्रिएको छ । भित्रिएका खोपको ४७.३२ प्रतिशत हिस्सा चीनमा निर्मित भेरोसेल र सिनोफार्मको छ । चीनबाट हालसम्म १ करोड ८५ लाख १ हजार ४८७ डोज खोप भित्रिएको छ । त्यसमध्ये ३८ लाख डोज अनुदानमा प्राप्त भएको हो । नेपाललाई प्राप्त खोपमध्ये दोस्रो बढी ३१.९४ प्रतिशत ‘अक्सफोर्डरअस्ट्राजेनेका–कोभिसिल्ड’ छ भने सबैभन्दा कम अर्थात् १.९५ प्रतिशत फाइजरको खोप छ ।

 

कुल खोपमध्ये ३०।७० प्रतिशत अर्थात् १ करोड २० लाख मात्रा खोप खरिदको रहेको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार भित्रिएको कुल खोपमध्ये २५.५० प्रतिशत अर्थात् १ करोड मात्रा चीनबाट र ५.१० प्रतिशत अर्थात् २० लाख मात्रा भारतबाट खरिद गरिएको हो ।

 

कुल जनसंख्याको ३३.५ प्रतिशत अर्थात् १ करोड १ लाख ६६ हजार ५ सय ४ जनाले पूर्ण र ४४.७ प्रतिशत अर्थात् १ करोड ३५ लाख ७३ हजार ७ सय ९२ जनाले एक डोज खोप लगाइसकेका छन् । गत वर्ष माघ १४ मा भारत सरकारबाट अनुदानमा उपलब्ध गराइएको कोभिसिल्ड खोप स्वास्थ्यकर्मीलगायत फ्रन्टलाइनरलाई लगाएर खोप अभियान सुरु गरिएको थियो ।