दाङ– दाङको राप्ती गाउँपालिका क्षेत्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धिसम्बन्धी दोस्रो चरणको तालिम दिन सुरु गरिएको छ । बुधबारबाट सुरु भएको तालिम ७ दिनसम्म सञ्चालन हुनेछ । तालिम उद्घाटन गर्दै राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले विशेषगरी सुनौला हजार दिनका आमा र बच्चाको पोषणमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
उपाध्यक्ष चौधरीले बालबालिकाको सुरुआती वर्षमा पोषणमा गरिने लगानीले उनीहरूसँगै तिनका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले समयमै सचेत भएर अगाडि बढ्न सुझाइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले एक सातासम्म सञ्चालन हुने तालिममा सिकेका सीप, ज्ञानलाई आ–आफ्नो कार्यक्षेत्रमा पुगेर कार्यान्वयन गर्न र आगामी दिनमा कुपोषणमुक्त समाज निर्माणमा लाग्न स्वास्थ्यकर्मीलाई आग्रह गरे ।
बृहत् पोषण प्याकेजमा महिलाका हक अधिकार, बच्चाका हक अधिकार, परम्परा तथा समाजिक व्यवहारले समेत प्रभाव पार्ने उनले बताए । स्वास्थ्यकर्मीले सुनौला हजार दिने आमा तथा बालबालिकासँगै काम गर्ने भएकाले खान पान, लवाइखवाइबारे सुझाव तथा परामर्श दिएर समाज रुपान्तरणमा सहयोगी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।
स्वास्थ्य शाखा संयोजक नारायण राउतले बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण दरिलो जग भएको बताए । राम्रो पोषण पाएका बालबालिका राम्ररी हुर्कन, सिक्न, समुदायमा सहभागी हुन र योगदान दिनुका साथै रोग, विपत्ति तथा अन्य संकटसँग जुध्न सामथ्र्य हुने भएकाले यसको महत्त्व रहेको बताए ।