काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शनिबार काठमाडौं महानगर वडा नम्बर १७ मा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरिन् ।
दया फाउन्डेसन, अमेरिकामा रहेको नेपालीको संस्था युनाइटेड नेवाः, आईओएनलगायत दर्जन बढी संस्था तथा व्यक्तिको सहयोगमा क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको औपचारिक उ्दघाटन गरिएको हो । यो प्लान्टबाट दैनिक १ सय सिलिन्डर क्षमताको अक्सिजन उत्पादन हुनेछ ।
क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा मन्त्री भुसालले १ करोड ४५ लाख रुपैयाँ लागतमा निर्मित अक्सिजन प्लान्ट उद्घाटन गर्दै बढ्दो कोरोना महामारीविरुद्ध लड्न थप मद्दत मिल्ने विश्वास व्यक्त गरिन् ।
मन्त्री भुसालले नयाँ–नयाँ भाइरसको प्रभाव विश्वका अन्यत्र मुलुकमा बढिरहेको सन्दर्भमा नेपालमा पूर्वतयारी आवश्यक रहेको बताइन् । अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले नागरिकको जीवनरक्षामा सघाउ पुग्ने मन्त्री भुसाको विश्वास छ । मन्त्री भुसालले क्षत्रपाटी निःशुल्क चिकित्सालयले न्यून आय भएका, गरिब, असहाय नागरिकको सेवा गरिरहेकाले सरकारले थप सहयोग गर्ने प्रतिबद्धता जनाइन् । चिकित्सालयलाई सरकारले निःशुल्क विद्युत् उपलब्ध गराउने आश्वासन दिइन् ।
उनले १ मंसिरदेखि देशैभरिका गरिब जनता, जसले मासिक २० युनिट विद्युत खपत गर्दैनन्, तिनलाई विद्युत् निःशुल्क उपलब्ध गराइएको बताइन् । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले अस्पतालले ०७२ को भूकम्प र हालको कोडिभ महामारीमा उल्लेख्य भूमिका खेलेको बताउँदै सरकारले पूर्वाधार विकासमा ध्यान दिन नसकेको गुनासो गरे ।
क्षत्रपाटी निःशुल्क चिकित्सालयका उपाध्यक्ष कुमारदेव मानन्धरले दैनिक १ सय सिलिन्डर अक्सिजन उत्पादन हुने, स्वचालित पाइपमार्फत सिधैं अस्पतालको बेडमा पुग्ने अक्सिजन प्लान्ट निर्माण सम्पन्न भएको जानकारी दिए । छिट्टै उक्त प्लान्टबाट अक्सिजन सिलिन्डरमा भर्ने व्यवस्था गरिने उनले बताए ।
कार्यक्रममा अक्सिजन प्लान्टका लागि सहयोग गर्ने मुख्य दातृ संस्था दया फाउन्डेसनका संस्थापक सदस्य कीपा माथेमाले क्षत्रपाटी निःशुल्क चिकित्सालयले सहरी क्षेत्रका जनताको स्वास्थ्योपचारमा पु¥याइरहेको सहयोगमा थप बल पु र्याउन अक्सिजन प्लान्टका लागि सहयोग संकलन गर्ने अभियानको नेतृत्व गरेको जानकारी दिइन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. श्रेष्ठले सबै दाताको सामूहिक भावनाको कारण अक्सिजन प्लान्ट जडान गर्न सम्भव भएको बताए ।
अध्यक्ष श्रेष्ठले नयाँ बन्दै गरेको भवनका लागिसमेत अक्सिजन अभाव नहुने गरी व्यवस्थापन गरिएको जानकारी दिए । क्षत्रपाटी निःशुल्क चिकित्सालयले १ पुसबाट प्रत्येक शनिबार ओपिडी सेवा सञ्चालन गर्न सुरु गरेको छ । अस्पतालले सामान्य शल्यक्रियासमेत गर्दै आएकामा अब विशेष प्रकारको शल्यक्रिया सेवा थप गर्दै अघि बढ्ने तयारी गरिरहेको जनाएको छ ।
अस्पतालका अनुसार अक्सिजन प्लान्ट स्थापनाका लागि युनाइटेड नेवा नामक संस्थाले १५ लाख, आईओएनले २० लाख, नेपाल परिवार जर्मनले ५ लाख, एनआरटी क्लबले ५ लाख, ढल्को परिवारले ३ लाख, हातेमालो वनस्थलीले ५ लाख रुपैयाँ सहयोग गरेका थिए ।