close

१२ देखि १८ वर्ष उमेर समूहकालाई दिइँदै कोरोना खोप

१२ देखि १८ वर्ष उमेर समूहकालाई दिइँदै कोरोना खोप

Trulli
ADVERTISEMENT

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१८ वर्ष उमेर समूहका बालबालिकालाई ४ पुसदेखि कोभिड–१९ विरुद्धको खोप लगाइने बताएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकुमार लालका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिइनेछ । हिमालीसहित ५७ जिल्लाका विद्यालयमै खोप केन्द्र तोकेर बालबालिकालाई खोप दिइनेछ ।


यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लाका बालबालिकालाई भने फाइजर खोप दिइने उनले बताए । स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार करिब १८ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने लक्ष्य छ । दाहालले भने, ‘हिमाली जिल्लाको हकमा १०० बढी र अन्य जिल्लाको हकमा २०० बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड बनाएका छौँ । सोही मापदण्डअनुसार खोप केन्द्र निर्धारण गरेर बालबालिकालाई मोडर्ना खोप दिन्छौँ ।’

 

यो अभियान १४ पुससम्म सञ्चालन हुनेछ । दाहालका अनुसार आइतबारसम्म गरी झन्डै ३७ लाख डोज मोडर्ना खोप प्राप्त हुनेछ ।

 

फाइजर खोप दिइने जिल्ला

 

यसअघि फाइजर खोपका लागि तोकिएका २४ वटा विशेषज्ञ अस्पताल रहेका जिल्लाका बालबालिकालाई फाइजर खोप दिइनेछ । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, सिन्धुली, चितवन, काभ्रे, कास्की, बागलुङ, रूपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराका गरी २४ वटा विशेषज्ञ अस्पतालबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप दिइएको थियो ।


राष्ट्रिय खोप सल्लाहाकार समितिले बढी जनघनत्व भएको र यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लामा फाइजर खोप दिन सुझाएको दाहालले बताए ।


फाइजर खोप अभियान सञ्चालनका लागि तालिम प्राप्त जनशक्ति आवश्यक पर्ने, प्रयोगका लागि प्राविधिक हिसाबले पनि मोडर्नाभन्दा यो खोप अलि फरक भएकाले बढी जनघनत्व भएका र यसअघि नै प्रयोगमा आएका जिल्लामा लगाउने निर्णय भएको दाहालको भनाइ छ । फाइजर खोपको तुलनामा मोडर्ना खोप दुर्गम जिल्लामा लैजान सहज हुने भएकाले पनि ५७ जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने सरकारको तयारी छ ।