close

पालिका, वडामा जुनसुकै बेला खोप लगाउने व्यवस्था गर्न सरकारलाई समितिको निर्देशन

पालिका, वडामा जुनसुकै बेला खोप लगाउने व्यवस्था गर्न सरकारलाई समितिको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाण्डौ – प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनु बाट नागरिकलाई जोगाउन आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । 

 

आज आइतवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासहित सिंहदरबारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

 

भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकाले नेपालमा पनि आवतजावतका कारण सङ्क्रमण भित्रिन सक्नेतर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोप कार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन्  । 

 

सभापति घर्तीले कोरोनाको खोप नागरिकसम्म पुर्‍याउने काम चाँडै कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिइन् । उनले ज्येष्ठ नागरिकलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिइन् । त्यस्तै सभापति घर्तीका अनुसार समितिले हरेक वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकी जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

 

समिति सभापति घर्तीले कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि अक्सिजन र भेन्टिलेटरको अवस्था बुझी आवश्यकताअनुसार जुटाउन र प्रयोग भइसकेका कुराहरूलाई व्यवस्थित गर्न पनि निर्देशन दिइन् ।

 

सभापति घर्तीले भनिन्, ‘खोपलाई छिटो भन्दा छिटो जनताकोमा पुर्‍याउने कुरा चाँडै कार्यान्वयन होस् भन्ने आग्रह गर्न चाहन्छु । ज्येष्ठ नागरिकलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्दा राम्रो हुन्छ । खोप लगाउने नियमित समय नतोकिकन खुला राख्नुपर्छ । नगरपालिका, गाउँपालिका र वडामा जति बेला पनि खोप लगाउने व्यवस्था गर्नुपर्छ । ओमिक्रोनबाट बच्न र नागरिकमा भय हुन नदिन सतर्कता अपनाउनुपर्छ भन्ने कुराको चेतना दिनुपर्छ । नेपालमा ओमिक्रोनको खतरा सबैभन्दा धेरै भारतबाट नै छ । त्यसैले भारतबाट आउने मानिस सबैलाई खोप लगाएको कार्ड र आउने बेला पीसीआर यी दुई वटा कुरामा मन्त्रालयले ध्यान दिनुपर्छ । अक्सिजन, भेन्टिलेटरको अवस्था के छ, त्यो बुझ्नुपर्छ । नेपालको समस्या के छ भने एक पटक प्रयोग गरेपछि भताभुङ्ग बनाउने गरिएको छ, त्यसलाई व्यवस्थित गर्नुपर्छ ।’ सभापति घर्तीले अहिले राजनीतिक मुद्दा भन्दा पनि कोरोनाको तेस्रो भेरियन्टबाट नागरिकको ज्यानको सुरक्षातर्फ लाग्न पनि निर्देशन दिइन्  ।