महोत्तरी– कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको त्रास बढ्न थालेपछि महोत्तरीका सर्वसाधारणले कोरोना खोपप्रति चासो बढाएका छन् । अभियान सुरु हुँदासमेत कोरोनाविरुद्धको खोप लगाउन उपस्थितै नहुने सर्वसाधारणले नयाँ भेरियन्ट देखिएपछि बल्ल खोपप्रति चासो दिन थालेका हुन् ।
खोप लगाएर रोगबाट बच्न सकिन्छ भन्ने अविश्वासकै कारण महोत्तरीमा चलाइएका विभिन्न खोप अभियानमा सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिएको छैन । कतिपय धार्मिक र सांस्कृतिक मान्यताका कारण पनि महोत्तरीमा चलाइएको छैटाँै खोप अभियानअन्तर्गत हासम्म ५० प्रतिशत जनसंख्याले कोरोना खोप लगाएका छैनन् ।
‘खेतीपातीमा काम गर्दागर्दै कोरोना खोप लगाउन जानै पाइएन । अहिले फेरि यही कोरोनाको नया भेरियन्ट आएको खबर पायौँ । अबचाहिँ जसरी पनि खोप लगाउँछु,’ महोत्तरी जलेश्वरका राम नरेश भन्छन् ।
राम नरेशजस्तै यसपल्ट खोप अभियानमा जसरी पनि सहभागी हुने बर्दिबास वडा नम्बर ३ का कृष्ण खत्री बताउँछन् । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको चर्चा र केही देशहरूले लकडाउनै गरेपछि अहिले डर लाग्न थालेको उनी सुनाउँछन् । कोरोना महामारी नियन्त्रण र यसबाट बच्न खोप लगाउनुपर्ने एक मात्र विकल्प हुँदाहुँदै जनचेतना अभावले अझै महोत्तरीका मुसहर, डुम तथा मुस्लिम समुदायले खोपलाई सहर्ष स्वीकार्न सकेका छैनन् ।
खोप लगाइसकेपछि ज्वरो आउने, दीर्घरोग भए त्यसलाइ टेवा पुग्ने र मृत्युसम्म हुने गलत अफवाहले सबै उमेर समूहका सर्वसाधारण अझै द्विविधामा छन् । महोत्तरीमा चलाइएका सबै खोप केन्द्रमा सर्वसाधारणहरूको चासो र सहभागिता न्यून देखिए पनि ओमिक्रोनको चर्चा हुन थालेपछि खोपको विषयमा आफैं सोधीखोजी गर्न थालेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले बताएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म २ लाख ४८ हजार २ सय ९ जनाले कोरोना खोप लगाएका छन् । यो संख्या कुल जनसंख्याको झन्डै ५२ प्रतिशत हो । अझै महोत्तरीमा ४८ प्रतिशत जनसंख्या खोप लगाउनबाट विमुख छ ।