close

अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह 

अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह 

Trulli
ADVERTISEMENT

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । कोभिड ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।  


मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा संक्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताए । उनका अनुसार हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परेको छैन । ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको उनले जानकारी दिए ।  


‘नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय एक भएर काम गरिरहेको अवस्था छ’, उनले विज्ञप्ति जारी गर्दै भनेका छन् ।  


उनका अनुसार उक्त भेरियन्टले बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । ओमिक्रोन संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न÷गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।  


केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट साउथ अफ्रिका तथा एसियाका केही मुलुकमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ । विश्व स्वास्थ्य संगठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको छ । मन्त्रालयले कोभिडविरुद्धको खोपले कोरोनाबाट बचाउन मद्दत गर्ने भएकाले आफूलाई पायक पर्ने ठाउँमा गई खोप लगाउन अपिल गरेको छ ।