close

जुम्लामा बढ्न थाले मधुमेहका रोगी

जुम्लामा बढ्न थाले मधुमेहका रोगी

Trulli
ADVERTISEMENT

जुम्ला– पछिल्लो समय अस्वस्थ खानपानले जुम्लामा पनि मधुमेहका रोगी बढ्न थालेका छन् । सुगर, डाइबिटिज, मधुमेह र चिनी रोग सबैलाई एउटै नामले चिनिन्छ । यसलाई सामान्य भाषामा शरीरमा चिनीको मात्रा धेरै देखिनु मानिन्छ । 

 

जनस्वाथ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले सहरिया खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेह फैलिएको बताए । ‘मधुमेह अहिले संसारभरि महामारीका रूपमा फैलिइरहेको छ । यसलाई नियन्त्रणमा नराखे दीर्घकालीन रूपमा गम्भीर जटिलता ल्याउन सक्छ,’ उनले भने ।

 

‘मधुमेहको हेरचाहमा सबैको पहुँच, अहिले नभए कहिले’ नारासहित विश्व मधुमेह दिवस अवसरमा आइतबार जनस्वास्थ्य सेवा कार्यालयले जुम्ला बजारमा १८८ जनाको मधुमेह परीक्षण गरियो । परीक्षण गरिएकामध्ये २६ जनामा मधुमेह भेटिएकामा ७ जनाले परीक्षण गरेर औषधी खाँदै गरेको र १९ जनाले रोगबारे थाहा नभएको बताए । ‘एक दिने तथ्यांकले जुम्लामा मधुमेहका रोगी बढ्दो क्रममा छन् भन्ने देखाउँछ । मधुमेह नियन्त्रण जरुरी छ,’ उनले थपे, ‘समयमै परीक्षणको दायरामा नआए यसले जटिल अवस्था निम्त्याउन सक्छ ।’


ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको र खानपान सहरको जस्तै हुन थालेकाले मधुमेह देखिन थालेको चिकित्सकको भनाइ छ । दैनिक खाजा र खानामा सहरिया चाउचाउ, बिस्कुट, पास्ता, तयारी पेय पदार्थको प्रयोग बढी हुने गरेको छ । मासु र मदिरा प्रयोग पनि बढेको छ ।

 

ग्रामीण क्षेत्रमा सहरको रहनसहन भित्रिएसँगै मधुमेहको समस्या पनि बढ्न थालेको चिकित्सक बताउँछन् । खानपानमा परिवर्तन, माछामासु, मदिराजस्ता वस्तुको उपभोग बढेकाले गाउँमा बस्नेमा पनि समस्या देखिएको हो । ‘गाउँमा पनि क्रयशक्ति बढ्यो । सहरको जस्तै खानपिन भयो । यसले समस्या बढाएको छ,’ सापकोटाले भने, ‘गाउँमा बस्नेले पनि खानपानमा ध्यान दिनुपर्‍यो, नियमित स्वास्थ्य परीक्षण गर्नुपर्‍यो ।’


जुम्लामा ४० वर्षदेखि माथि उमेर समूहमा बढी मधुमेहको समस्या देखिएको छ । घरमा कसैलाई मधुमेह भए २० वर्षको उमेरदेखि नै परीक्षण गरिरहनुपर्ने सापकोटाको सुझाव छ । मोटोपना, उच्च रक्तचाप र वंशाणुगत समस्या भए २० वर्षभन्दा कम उमेरकाले पनि परीक्षण गराइरहनुपर्ने उनले बताए । ‘खाली पेटमा रगत परीक्षण गर्दा १२६ मिलिग्राम परडेसिलिटरभन्दा बढी र खाना खाएपछि २०० भन्दा बढी भए हामीले मधुमेह (डाइबिटिज) भन्छौँ,’ सापकोटाले भने । 

 

मधुमेह भएपछि खानपान, व्यायाम र औषधीको सहायताले सुगर (चिनी) लाई निश्चित बिन्दुमा नियन्त्रणमा राख्न सकिने उनको भनाइ छ । मधुमेह लाग्नै नदिन पनि सतर्कता अपनाउन सकिने बताउँदै उनी भन्छन्, ‘मुख्य कारण मोटोपन र विलासी जीवनशैली नै हो । यसलाई नियन्त्रणमा राख्नुपर्छ । अहिले धेरै मानिस लामो समय कुर्सीमा बसेर काम गर्ने, शारीरिक कसरत गर्दैनन् । यसले शरीरको ग्लुकोज पचाउने प्रणाली र इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैन र मधुमेह बनाउँछ ।’