close

कर्णाली प्रदेश अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण

कर्णाली प्रदेश अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण

Trulli
ADVERTISEMENT

जुम्ला–कर्णाली प्रदेश अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण गरिएको छ । अस्पतालले दुई महिलाको हाडजोर्नीको सफलतापूर्वक प्रत्यारोपण गरेको हो ।दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाकी ४० वर्षीया रंगा विक र कालीकोटकी ६४ वर्षीया दीपा महताराको हाडजोर्नी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । 


दुवै जनाको दाहिने खुट्टाको ‘हिप’ जोर्नीको अपरेसनमार्फत प्रत्यारोपण गरिएको अस्पतालका प्रवक्ता एवं कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन डा. विकास केसीले जानकारी दिए । 


बाथ रोगका कारण हड्डी खिइएर हुने समस्याको समाधानका लागि प्रत्यारोपण गरिएको हो । प्रत्यारोपणमा प्रदेश अस्पतालका ६ जना कन्सल्टेन्ट अर्थोपेडिक डाक्टरको टिम संलग्न रहेको डा. केसीले बताए । 


जोर्नीको प्रत्यारोपणका लागि काठमाडौं, बुटवल जानुपर्ने समस्यालाई कर्णालीमै समाधान गर्न सफल भएको अस्पतालले जनाएको छ । प्रदेश अस्पतालमै जोर्नीको प्रत्यारोपण गर्न सकिने भएपछि यहाँका नागरिकलाई सहज हुने अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । 

 

हाडजोर्नी प्रत्यारोपणका लागि बिरामीको अवस्थाअनुसार कम्तीमा ५ देखि ७ लाख रुपैयाँसम्म खर्च हुने भए पनि स्वास्थ्य बिमा भएका बिरामीका लागि प्रदेश अस्पतालमा उपकरण खर्च मात्रै लाग्ने अस्पतालले जनाएको छ । 


अस्पतालका प्रवक्ता डा. केसीका अनुसार सफल प्रत्यारोपण गरिएका ती महिलाको २ देखि साढे २ लाख रुपैयाँसम्म खर्च भएको छ । दुवै जनाको स्वास्थ्य बिमा भएकाले खर्च कम भएको हो । हाडजोर्नी प्रत्यारोपण एक पटक गरिसकेपछि कम्तीमा २५ देखि ४० वर्षसम्म काम गर्ने डा. केसीले जानकारी दिए । 


प्रदेश अस्पतालमा भौतिक संरचना, अप्रेसन सामग्री र जनशक्तिसमेत भएकाले यस्तो खाले जटिल शल्यक्रिया सम्भव भएको निर्देशक .डा. खड्काको बुझाइ छ ।
कर्णाली प्रदेश अस्पतालले जटिल खाले शल्यक्रिया सुरु गरेपछि बिरामीको संख्या ह्वात्तै बढेको उनको भनाइ छ ।