महोत्तरी–महोत्तरी गौशालाका सुजु सदालाई कोरोना खोपबारे कुनै जानकारी छैन । कोरोना महामारीको विषयमा छरछिमेक र साथीभाइहरूले भन्दा सदाले कहिलेकाहीँ सुनेका छन् । तर, यो रोगले नेपालमा कति संक्रमित भए, कति मरे, कसरी लाग्छ भन्ने जानकारी उनलाई छँदै छैन ।
कोरोनाकै कारण विश्व आक्रान्त बन्यो, लाखौँ मानिसले ज्यान गुमाए, रोजगार गुमाए, जीविकोपार्जनको माध्यम शून्य बन्दा हजारौँले आत्महत्या गरेका समाचार उनले सुन्ने कुरै भएन । सदाले पनि कोरोनाबारे नबुझे पनि समस्याचाहिँ भोगे । तर, कोरोनाकै कारण समस्या सिर्जना भएको हो भन्ने हेक्का उनलाई छैन ।
सदालाई कहिलेकाहीँ ज्वरो आयो । रुघाखोकी लाग्यो । हिँड्न नसक्दा कयाँै दिन फोहोर बटुल्नै सकेनन् । ‘परीक्षण गरेको भए साथीहरूले सुनाएजस्तै मलाई पनि कोरोना देखाउँथ्यो होला’, उनले भने ।सदालाई रुघाखोकी र ज्वरो आएपछि परिवारलाई पनि उस्तै लक्षण देखिएको थियो कुनै बेला । सदाको परिवारमा मात्र होइन, पूरै मुसहर बस्तीमा सबैलाई ज्वरोले च्याप्यो ।
तर, सदालाई यी सबै लक्षण र दुखाइको बाल मतलब भएन । कारण थियो, दिनभर फोहोरमा फ्याँकेका खाली बोतल कम नहोउन्, मालसामान सडकका चोक–चोकमा प्रशस्त टिप्न पाइयोस् ! परिवारप्रतिको जिम्मेवारी र जीविकोपार्जनको बाध्यताले रोगभन्दा भोकसँगको लडाइँले सदालाइ निरन्तर झकझकाइरह्यो ।
त्यसैले पनि हुन सक्छ, उनले कोरोना विषयमा जानकारी लिने चासो दिएनन् । खोपको विषय त परै जाओस् । सरकारले मुलुकभर कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । स्थानीय तहले अहिले वडा–वडामा कोरोना खोप अभियान सञ्चालन गरिरहेका छन् ।
तर, सरकारले भनेजस्तो लक्षित वर्गले अझै खोप सुविधा पािउन सकेका छैनन् । विशेषगरी सदाजस्तै समुदायमा स्थानीय सरकारको ध्यान जान नसक्दा अझै पनि महोत्तरीमा कोरोना खोप लिनबाट वञ्चित नागरिकको संख्या ठूलो छ ।
खोप लगाउने ठाउँको विषयमा थाहा भए पनि गौशालाको मुसहर बस्ती मात्र होइन, महोत्तरीका हरेक मुसहर बस्तीका मुसहर समुदायका नागरिकको कम संख्याले खोप लिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
आद्रा नेपालको तथ्यांकअनुसार प्रदेश २ मा अहिले ३३ प्रतिशतले मात्र कोरोनाविरुद्धको खोप सुविधा लिएका छन् । बाकी ६७ प्रतिशत सदाजस्तै समुदाय र कोरोना खोपको विषयमा हिचकिचाहट देखाउने समुदाय छन् ।
महोत्तरीलगायत अन्य जिल्लामा धार्मिक मान्यता र चेतना अभावले खोप सुविधा लिन नसकेको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका अतुल मिश्रको विश्लेषण छ ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार अहिले खोप सुविधा नलिनेमा मुस्लिम, शैक्षिक रूपमा पिछडिएका र मुसहर समुदाय नै छन् । अभियानका रूपमा जनचेतना र बस्ती–बस्तीमा पुगेर कोरोना खोप सञ्चालन गरिए सबै समुदायलाई समेट्न सहयोग पुग्ने धारणा पत्रकार मिश्रको छ ।
महोत्तरीमा कतिले लगाए खोप
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म महोत्तरीमा ५२.६२ प्रतिशतले मात्र खोप लगाएका छन् । स्थानीय सरकारले कोरोना खोप अभियान चलाइरहे पनि त्यसको प्रभावकारिता बढ्न नसक्दा अझै आधा जनसंख्या खोपबाट वञ्चित छ ।
अहिलेसम्म २ लाख ४८ हजार २ सय ९ जनाले महोत्तरीमा कोरोनाविरुद्धको खोप लगाएका छन् । पहिलो डोज मात्र लगाउने ३० र दोस्रो डोज लगाउनेको संख्या २२ प्रतिशत छ ।
जिल्लाको कुल जनसंख्यामध्ये कोभिसिल्ड पहिलो खोप लिने ३२ हजार ८५ जना, भेरोसेल पहिलो खोप लिने ५० हजार ६ सय ६२ जना रहेका छन् । त्यसैगरी कोभिसिल्ड दोस्रो खोप लिने ५ हजार २ सय २७ जना, भेरोसेल दोस्रो खोप लिने ५ हजार ९ सय ९४ छन् ।
जोनसन र एस्ट्रोजेनिका खोप भने सबैले एकपल्ट मात्र लगाएका छन् । जोनसन ३६ हजार ३ सय ७८ जना, एस्ट्रोजेनिका २३ हजार ६ सय ६२ जनाले लिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।